नेपाली राष्ट्रिय फुटबल टिमबाट बर्खस्तगीमा परेका चार जना फुटबलरमाथि थप अनुसन्धान हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार फरवार्ड विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशीलाई अनुशासनहिन काम गरेको भन्दै राष्ट्रिय टिमबाट हटाएको थियो।
उनीहरुलाई नियमविपरित 'नाइट क्लब'मा गएको भन्दै एन्फाले तत्काल राष्ट्रिय टिमबाट हटाएको थियो।
'हाललाई हामीले राष्ट्रिय टिमबाट मात्र हटाएका हौं। घटनाको विषयमा थप अनुसन्धान हुने काम भइरहेको छ, त्यसपछि थप कारबाही हुन सक्छ,' एन्फाका प्रवक्ता किरण राईले सेतोपाटीसँग भने।
राईका अनुसार घटनाबारे मंसिर ३ गतेपछि एन्फामा छलफल हुनेछ।
मंसिर ३ गते हुने कुवेतविरुद्धको खेलका लागि भुटान गएका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा स्वदेश फर्किएपछि एन्फा बैठक बस्ने भएको हो।
'अध्यक्षज्यू र राष्ट्रिय टिमका प्रशिक्षक भुटानबाट फर्किएपछि खेलाडीहरु नाइट क्लबमा गएको विषयमा थप छलफल हुनेछ। त्यहि बैठकमा कारबाहीको विषयमा निर्णय होला,' राईको भने।
चारै जना खेलाडी फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेलका लागि राष्ट्रिय टिममा परेका थिए।
कारबाहीमा परेपछि उनीहरुलाई भुटान जानबाट एन्फाले रोकेको थियो।
वैकल्पिक खेलाडीको सूचीमा रहेका सुवास गुरुङ मात्र भुटान गएका छन्। प्रशिक्षक योहान कालिनले अरु खेलाडी माग नगरेकाले टिममै उपलब्ध खेलाडीले कुवेतविरुद्ध खेल्नु पर्ने भएको छ।
कारबाहीमा परेका चारै जना पहिलो रोजाइमा पर्ने खेलाडी भएकाले नेपाललाई कुवेतविरुद्ध खेल्न गाह्रो हुने देखिएको छ। अझ अञ्जन विष्टले विश्वकप छनोटअन्तर्गत चाइनिज ताइपेईविरुद्ध २ गोल गरेका थिए।
यता कारबाहीमा परेका चारै खेलाडीले आइतबार एन्फा कम्प्लेक्सको होस्टल समेत छाडेका छन्।
चारै जना शुक्रबार राति ठमेलका विभिन्न क्लबमा गएका थिए। भुटान उड्ने अघिल्लो दिन उनीहरु राति २ बजेसम्म क्लबमा रहेको एन्फा स्रोतको भनाइ छ। ठमेलका विभिन्न क्लबमा घुमेपछि अन्तिममा उनीहरु एलओडीमा पुगेका थिए।
गत वर्ष पनि विमल लगायतका खेलाडीहरु नाइट क्लबमा गएका थिए। एसियाली खेलकुदअघि नियम तोडेका उनीहरुमाथि एन्फाले स्पष्टिकरण मात्र सोधेको थियो।