धरानमा भएको लिगको खेललाई लिएर मुख्यमन्त्री कप प्रदेश लिग विवादमा फसेको छ।
लिगअन्तर्गत धरानबाट सुनसरी र धनकुटा दोश्रो चरणमा प्रवेश गरेका छन्। समान अंक भएको तेह्रथुम प्रतियोगिताबाट बाहिरिएसँगै विवाद भएको हो।
लिग अन्तर्गत धरानमा सम्पन्न भएको समूह चरणको खेलमा समान ८ अंक जोडेका तेह्रथुम, धनकुटा र सुनसरी मध्ये तेह्रथुम प्रतियोगिताबाट बाहिरिएको थियो।
समूह चरणको अन्तिम खेलमा सुनसरीले भोजपुरलाई ९–१ गोल र धनकुटाले संखुवासभालाई ७–२ गोल अन्तरले पराजित गरेका थिए। यसअघि दोश्रो चरण प्रवेशका लागि तेह्रथुम ८ अंकसहित सुरक्षित रहेको थियो। अन्तिम खेलमा दुवै टोलीको अप्रत्यासित नजिताले धनकुटा र सुनसरी दोश्रो चरणमा प्रवेश पाएका थिए।
यस बिषयमा आयोजक समक्ष कुनै प्रकारको उजुरी नआएको प्रतियोगिता अध्यक्ष किरण राईले जानकारी दिए।
बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा अध्यक्ष राईले प्रतियोगिता नियामावली अन्तर्गत रहेर निर्णय भएको र तेह्रथुम प्रतियोगिताबाट बाहिरिएको स्पष्ट पारे। उनले भने, ‘हालसम्म कसैको कम्पलेन आएको छैन, दाबी विरोध भएको छैन। जसका कारण सुनसरी र धनकुटा दोश्रो चरणमा प्रवेश गरेका छन्।’
यदद्पी लिग नियमावलीको अंक र स्थान निर्धारण अन्तर्गत ५ को ‘ङ’ मा यदि दुई वटा टोलीबीच अंक बराबर भएको खण्डमा, बराबर भएको टोलीबीच बढि गोल गर्ने टोली अर्को चरणमा प्रवेश गर्ने जनाइएको छ।
तेह्रथुम, सुनसरी र धनकुटाको समान ८ अंक भएपनि तीन टोलीमध्ये तेह्रथुमको टोलीले ४ गोल गर्दै ४ गोल खाएको थियो । त्यसैगरि सुनसरी र धनकुटाले ३ गोल गर्दै ३ गोल खाएका थिए।
‘गोलअन्तरका आधारमा तेह्रथुम दोश्रो चरणमा पुग्नुपर्ने थियो तर, त्यो भएन।’ अखिल नेपाल फुटबल संघ एन्फाका एक पदाधिकारीले जानकारी दिए। उनका अनुसार जारी प्रतियोगिता एन्फाकै नियमावाली मातहत रहेर बनाइएको छ। उनले भने, ‘प्रदेश लिग कमिटी अलग्गै भएका कारण नियमावली फरक बनाउन सकिने भएपनि जारी प्रतियोगिता एन्फाकै नियमावली भित्र रहेर भइरहेको हो।’
प्रतियोगिताको दोश्रो चरणमा सुनसरी, मोरङ, धनकुटा, झापा, खोटाङ र इलामको टोलीले स्थान पक्का गरेका छन्। आयोजक पक्षले खराब मौसमका कारण प्रतियोगिताको दोश्रो चरणको खेलहरु धरानमा गर्ने जनाएको छ। यसअघि ती सबै खेल विराटनगरमा हुने बताइएको थियो।