अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले कोपा अमेरिका २०१९ मा भ्रष्टाचार भएको भनी लगाएको आरोपको दक्षिण अमेरिकी फुटबल महासंघले खण्डन गरेको छ।
महासंघले फुटबलमा हार-जित स्वभाविक भएको बताउँदै सहभागी १२ वटै टिमलाई समान व्यवहार गरेको विज्ञप्ती मार्फत जनाएको छ।
‘पछिल्ला आरोपले प्रतियोगिता, सहभागी सबै खेलाडी र महासंघका सयौं आधिकारीप्रति सम्मान नदिएको देखिन्छ। महासंघ सन् २०१६ देखि दक्षिण अमेरिकी फुटबललाई पारदर्शि र व्यवसायिक बनाउन खटेर काम गरिरहेका छ,’ महासंघले भनेको छ।
यसअघि मेसीले कोपा अमेरिकामा अर्जेन्टिनामाथि भेदभाव भएको आरोप लगाएका थिए। भ्रष्टाचारको हिस्सा बन्न नहुने भन्दै मेसी तेस्रो स्थानको मेडल लिन पनि गएका थिएनन्।
आइतबार तेस्रो स्थानका भएको खेलमा अर्जेन्टिनाले चिलीमाथि २-१ को जित निकालेर कास्य पदक जितेको थियो। मेसीले खेलको ३७ मिनेटमा रातो कार्ड पाएका थिए। खेलका दौरान मेसीले चिलीका ग्यारी मेडलसँग कुम र टाउको जुधाएका थिए। त्यसपछि रेफ्रीले दुवैलाई रातो कार्ड दिए।
'हामीले भ्रष्टाचार भएको स्थानमा सहभागिता जनाउनु हुँदैन। किनकी हामी यो प्रतियोगितामा पीडित बनेका छौं,’ मेसीले स्पेनिस मिडिया एएसलाई भनेका थिए, ‘हामी दुवैलाई पहेँलो कार्ड दिए हुँदा केहि फरक पर्दैन थियो। यस्तै कुराले प्रतियोगितामा असर परेको छ।’
साथै उनले प्रतियोगिताको उपाधि ब्राजिललाई जिलाउने पहिले नै तय भएको गम्भिर आरोप लगाएको थिए।