त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबलाई पराजित गर्दै ललित स्मृति कप यु–१८ च्याम्पियनशिप फुटबलमा विजयी सुरुवात गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले फ्रेण्ड्सलाई २–० गोलले हराएको हो। आर्मीका लागि विशाल बस्नेत र जय अधिकारीले एक÷एक गोल गरे। विशालले खेलको चौथो मिनेटमा तथा जयले ३८औँ मिनेटमा एक गोल गरेका थिए। जीतसँगै समूह ‘बी’मा रहेको आर्मीले तीन अङ्क जोडेको छ ।
अर्को खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथलाई २–१ गोलले पराजित गरेको छ। पुलिसको जितमा सन्जु सने १६ र ९० मिनेटमा गोल गरे।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वउपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा ‘ए’ डिभिजनमा रहेका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले रु तीन लाख तथा उप–विजेताले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ ।