ब्राजिलियन सुपरस्टार नेइमार जुनियरले आफूमाथि लागेको बलात्कारको आरोप झूठो भएको बताएका छन्। उनले ७ मिनेट लामो भिडियो इन्स्टाग्राममा पोष्ट गर्दै आफूमाथि लागेको आरोप झूटो भएको बताएका हुन्।
ती महिलासँग दुई जोडीबीच जस्तो सम्बन्ध हुन्थ्यो त्यस्तै सम्बन्ध रहेको नेमारको भनाई छ। एकदम निजी कुरा भएपनि आफूले केही नगरेको प्रमाण दिन उनीसँगको सम्बन्ध सार्वजनिक गर्नुपरेको बताएका छन्।
उनको व्यवस्थापकीय टोलीले पनि विज्ञप्ति जारी गरेर नेइमारमाथि अन्यायपूर्वक आरोप लगाइएको जनाएको छ। ‘नेइमारले बलात्कार नगरेको प्रमाण प्रहरी अधिकारीलाई दिएको छ’ उनको व्यवस्थापकीय टोलीको विज्ञप्तिमा भनिएको छ।
उनलाई एक ब्राजिली महिलाले बलात्कारको आरोप लगाएको रिपोर्ट शनिबार सार्वजनिक भएको हो। परिचय नखुलेकी एक महिलाले ब्राजिलस्थित साओ पाउलोमा नेइमारबिरुद्ध बलात्कारको उजुरी दिएकी हुन्।
नेइमारले आफूलाई ब्राजिलबाट पेरिस बोलाएर बलात्कार गरेको आरोप ती महिलाको छ। ती महिलाका अनुसार रक्सीले मातेका नेइमारले उनी बसेको होटलमा आएर उनलाई जिस्काउँदै आक्रामक हुँदै इच्छा विपरित यौन सम्बन्ध राखेका हुन्।
उजुरीपछि ब्राजिली अधिकारीहरूले घटनामाथि अनुसन्धान गरिरहेका छन्। फ्रेन्च फुटबल समाचारका अनुसार उनलाई आरोप लगाइएको रात नेइमार आफ्ना ब्राजिलियन साथी खेलाडी मार्क्विनहोसको जन्मदिनको पार्टीमा थिए।
नेइमारका बाबुले आरोपको खण्डन गर्दै आफ्ना छोरालाई ती आरोपीले त्यतिकै प्रताडित गर्न लागेको प्रतिक्रिया दिएका छन्। नेइमार यतिबेला जुन ५ मा हुन गइरहेको कतार विरूद्धको मैत्रीपूर्ण प्रतिष्पर्धाका लागि तयारी गरिरहेका छन्।