नेपाली महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीको टिमले भारतीय महिला फुटबल लिग जितेको छ। बुधबार भएको खेलमा सावित्राको टिम सेथुले मणिपुरविरूद्ध ३-१ को जित निकालेको हो। जितका लागि सावित्राले दुई गोल हानेकी हुन्।
पहिलो हाफमा मणिपुर १-० ले अघि थियो। दोस्रो हाफको ५६ औं मिनेट भारतीय खेलाडी इन्दुमथीले सेथुका लागि गोल फर्काइन्। त्यसको ४ मिनेट पछि सावित्राले अर्को गोल थपिन्।
पहिलो गोल हानेको १० मिनेटपछि साम्बा नामले चर्चित सावित्राले अर्को गोल हानिन्।
त्यसपछि दुबै टिमले गोल गर्न सकेनन् र उपाधि सेथुले उचाल्यो। प्रतियोगितामा साम्बा सबैभन्दा बढी गोल गर्ने दोस्रो खेलाडी बनेकी छन्। उनले १५ गोल हानेकी छन्। सर्वाधिक गोल गर्नेमा उपविजेता मणिपुरकी बालादेवीले २६ गोल हानेकी छन्।
को हुन् साम्बा?
सावित्रा भण्डारी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर हुन्। सावित्रा फुटलबमा ‘साम्बा’ नामले पनि चिनिन्छिन्।
नेपाली फुटबल टोलीकी ‘गोल मेसिन’ साम्बाले अहिलेसम्म २६ अन्तराष्ट्रिय गोल गरिसकेकी छन्।
गत फागुन २८ देखि चैत ८ गतेसम्म भएको साफ च्याम्पियनसिप महिला फुटबलमा साम्बाले ४ गोल गरिन्।
भारतविरूद्धको फाइनल खेलमा उनले एक गोल हानिन्। नेपाल प्रतियोगिताको उपाधि जित्नबाट भने बञ्चित भयो। फाइनल खेल नेपालले ३-१ ले गुमायो।
महिला फुटबलमा साम्बाले सफल खेलाडीको परिचय बनाए पनि उनको फुटबल यात्रा भने सहज रहेन।
लमजुङको सिम्बाली गाउँमा जन्मिएर हुर्किएकी सावित्राले फुटबल खेल्नका लागि घरमै संघर्ष गर्नुपर्यो। स्कुलका केटासँग फुटबल खेल्दा परिवारको गाली खानुपर्यो। आमाको पिटाइ सहनुपर्यो। बाबाको ‘घरमै बसेर पढ’ भन्ने आदेश पालना गर्नुपर्यो।
परिवारसँग मनमुटावबीच उनले घरको आँगनमै खाली खुट्टा मोजाको बलमा आफ्नो फुटबल सपनालाई जीवन्तता दिइरहिन्।
‘चप्पल लगायो भने च्यातिन्थ्यो’, साम्बा ती दिन सम्झँदै भन्छिन्, ‘मम्मीले कराउनुहुन्थ्यो। त्यसैले खाली खुट्टा खेल्थें।’
साम्बाका चार दिदीबहिनी छन्, दुइ दाजुभाइ। बुवाको नोकरीले मात्र परिवार चलाउनै मुस्किल भैरहेको देखेकी उनका लागि फुटबल जर्सी किन्नु सपना थियो।
उनलाई फुटबलको भोकले छाडेन। विद्यालयको टिफिन टाइममा खाजा खाइनन्। फुटबल खेलिन् त्यो पनि केटाहरूसँग।
‘म छोरी मान्छे हो लजाएर हिँड्नुपर्छ, फ्रक लगाउनुपर्छ, लजालुपन हुनुपर्छ भन्ने मेरो मन मस्तिष्कमा आएन पनि’, साम्बा सम्झिन्छन्।
केटाजस्तो भएर हिँडेको देखेर छिमेकीले कुरा काटे। तर साम्बाले परवाह गरिनन्।
‘परिवारबाट दबाब थिएन’, साम्बा भन्छिन्, ‘पढाइ र खेलकुद दुबै राम्रो हुँदै गयो।’
फुटबलमा मात्र होइन जिल्ला स्तरको दौडमा समेत उनले गोल्ड मेडल जितिन्। भलिबलमा सिल्भर मेडल। साम्बाले ल्याएको मेडलले छिमेकीको मुख टालियो।
२०७१ साल सावित्राका लागि टर्निङ प्वाइन्ट बन्यो। लमजुङकै घले गाउँमा आयोजना भएको फुटबल प्रतियोगितामा साम्बाले उत्कृष्ट प्रदर्शन गरिन्। प्रतियोगिताकै सबैभन्दा धेरै ९ गोल गरिन्।
खेल हेर्न राष्ट्रिय रेफ्री शुक्र लामा घलेगाउँ पुगेका थिए। सावित्राको खेल देखेर शुक्रले उनलाई सशस्त्र प्रहरीको फुटबल टोलीमा आबद्ध हुने मौका मिलाइदिए। लामाले सावित्रालाई फोन गरेर सशस्त्र प्रहरी क्लबमा आउन सुझाव दिए।
वैशाखसम्म घलेगाउँको खेलम खेलिरहेकी सावित्रा तीन महिनापछि सशस्त्र प्रहरीको एपिएफ क्लबमा महिला फुटबल खेलाडी बनिन्। सशस्त्रमा राष्ट्रिय टोलीका खेलाडी थिए। उनलाई क्लबमा आफूलाइ प्रमाणित गर्ने चुनौती थपियो।
तर मेहेनती साम्बाले हौसला गुमाइनन्।
एन्फाले राष्ट्रिय टोलीमा छनौटका लागि ४४ खेलाडीलाई क्लोज क्याम्पमा राख्यो। साम्बा ४४ मा समेटिइन्। ‘सीमित’ फुटबलको ज्ञानको सहारामा राष्ट्रिय टोलीमा पर्न उनले संघर्ष गर्नुपर्यो।
सन् २०१४ उनका लागि सुनौलो बिहानी बनेर आयो। त्यही वर्ष उनले पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरिन्। डेब्यु खेलमै गोल पनि ठोकिन्।
त्यसयता उनी राष्ट्रिय फुटबल टोलीमा निरन्तर छिन्- गोल मेसिनका रूपमा।
साम्बालाई आफूले केही पाउने अपेक्षाभन्दा राष्ट्रका लागि केही गर्ने भोकले अझै सताइरहेछ।
‘रिजल्टका चुक्दा पनि हामी नर्भस छैनौं’, साम्बा भन्छिन्, ‘आफ्नो देशका लागि केही गरेर देखाउनुपर्छ भन्ने अझै छ।’
साम्बालाई खेलमा विपक्षीले समय कटाउन गरेकी तिकडमले चिढ्याउँछ।
‘टाइम किल गरेको देख्दा मिल्ने भए टिपेर फाल्दिँउ जस्तो हुन्छ’, साम्बा भन्छिन्, ‘ग्राउण्डबाहिर लगेर राखिदिउँजस्तो हुन्छ।’
साम्बा ब्वाइज कट हेयर स्टाइल राख्छिन्। कतिपयले उनलाई केटा भन्ठान्छन्। ‘भाइ भन्छन्’, साम्बा भन्छिन्, ‘मान्छेहरू कहिलेकाहीँ झुक्किन्छन्।’
उनलाई एउटा कुराले अझै सताउँछ। खेलाडी बनेपछि शरिरको लचकता गुमेकोमा। ‘नाँच्न मलाई बच्चैदेखि सौख थियो’, साम्बा भन्छिन्, ‘मलाई नाँच्न आउँदैन। मेरो जिउ लचक छैन।’