बर्नलीमाथि सहज जित निकाल्दै एभर्टनले युरोपा लिग फुटबलमा छनोट हुने सम्भावना जिवितै राखेको छ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा एभर्टनले घरेलु मैदानमा बर्नलीलाई २–० ले हराउँदै छनोटको सम्भावना जिवितै राखेको हो।
एभर्टनको जितमा सेमस कोलम्यानले गोल गर्दा अर्को गोल उपहारमा पाएको थियो।
खेलको १७ औँ मिनेटमा पाएको उपहार गोलबाट एभर्टनले सुरूवाती अग्रता बनाएको थियो। बर्नलीका बेन मीले आत्मघाती गोल गर्दै घरेलु टोलीलाई उपहार दिएका थिए। त्यसपछि २० औँ मिनेटमा सेमस कोलम्यानले गोल गर्दैं एभर्टनको अग्रता दोब्बर पारे।
पहिलो हाफमा २-० ले अघि रहेको एभर्टनले दोस्रो हाफमा गोल थप्न नसकेपछि गोल नखाएपछि खेलमा सहज जित निस्किएको हो।
दुवै तर्फबाट गोलका राम्रा प्रयासहरू खेर गएका थिए।
जितपछि एभर्टनको युरोपा लिग फुटबलमा छनोट हुने सम्भावना जीवितै रहेको छ।
लिगको एक खेल बाँकी हुँदा उसको ३७ खेलबाट ५३ अंक सहित आठौं स्थानमा छ। पराजित बर्नली ४० अंकसहित लिगको १५ औं स्थानमा छ।