आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दाङको घोराहीमा सुरू भएको महिला फुटबल प्रतियोगितामा प्रदेश नं. २ ले विजयी सुरूवात गरेको छ ।
सुदूरपश्चिम प्रदेश र प्रदेश नं. २ बीच बुधबार भएको उद्घाटन खेलमा २ नं. प्रदेशले शून्यकाविरूद्ध ४ गोल गर्दै विजयी भएको हो।
प्रदेश नं. २ लाई विजयी बनाउन खेलाडीहरू निकिता ठोकरले एक्लै २ गोल गरिन् भने रजनी ठोकर र रोशनी लिम्बूले समान १–१ गोल गोल गरे ।
खेलको सुरूआतदेखि नै आक्रामक खेलेको २ नं प्रदेशको जितको लागि जर्सी नं. ११ की रजनी ठोकरले खेल सुरू भएको पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन्।
त्यस्तै ३४ औं मिनेटमा जर्सी नं. १३ की निकिता ठोकरले दोस्रो गोल थपेकी हुन्।
पहिलो हाफमा २–० ले पछि परेको सुदूरपश्चिम खेलको लयमा फर्किन नसक्दा दोस्रो हाफमा पनि थप दुई गोल खान पुगेको थियो। दोस्रो हाफको ४२ औं मिनेटमा जर्सी नं. १० की रजनी लिम्बू र ४४ औं मिनेटमा जर्सी नं. १३ की निकिता ठोकरले चौंथो गोल जित सुनिश्चित गरेका हुन्।
त्यस्तै दोस्रो खेलमा प्रदेश नं. ३ का विरूद्ध नेपाल पुलिसले हाफ टाइमसम्म २ गोल गरेको छ । ३ नं. प्रदेशले हापटाइम सम्म कुनैपनि गोल गर्न सकेको छैन ।
११ गतेसम्म चल्ने प्रतियोगितामा सात वटा प्रदेश र ३ विभागीय टोली गरी दस वटा समूहको प्रतिस्पर्धा हुने छ। यसअघि तुलसीपुरस्थित बेलझुण्डी रंगशालामा महिला फुटबल उद्घाटन तथा खेलाउने गरी तालिका सार्वजनिक भएको थियो। तर मैदान निर्माण कार्य पूरा नभएको हुँदा बिहीवार बेलुकादेखि मात्रै बेलझुण्डी रंगशालामा फुटबल प्रतियोगिताका हुने जानकारी दिइएको छ । यसैबीच बुधवारदेखि दाङको लमही रंगशालामा महिला क्रिकेट प्रतियोगिता सुरू भएको छ ।