फुलह्यामलाई २-१ ले पराजित गर्दै लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ।
आइतबार राती भएको खेल जितेसँगै उसले लिगमा ३१ खेलबाट ७६ अंक जोडेको छ। एक खेल कम खेलको म्यानचेस्टर सिटी ७४ अंकसहित दोश्रो स्थानमा रहेको छ।
लिभरपुलको शीर्षस्थानको यात्रामा खेलको ८१ औं मिनेट पेनाल्टीबाट प्राप्त गोल प्रमुख रह्यो। खेलको ८० औं मिनेटमा फुल्ह्यामका सर्जियो रिकोले साडियो मानेलाई पेनाल्टी क्षेत्रमा फल गरेपछि लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो।
पेनाल्टीबाट प्राप्त अवसरलाई जेम्स मिलनेरले गोलमा परिणत गरेका थिए।
पहिलो हाफ १-० को नतिजामा सकिएको खेलमा अग्रता पनि लिभरपुलले नै लिएको थियो। लिभरपुलले खेलको २६ औं मिनेटमा गोल गरेको थियो। सो गोल साडियो मानेले गरेका थिए।
यसैगरी खेलको दोश्रो हाफको ७४ औं मिनेटमा फुलह्यामले बराबरी गोल फर्कायो र नतिजलाई १-१ को बराबरी गर्यो। सो गोल बाबेलले गरेका हुन्।