स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडले लेगानेसलाई ३-० ले हराएको छ।
घरेलु मैदानमा रियललाई सहज जित दिलाउन बुधबार राति कप्तान सर्जियो रामोस, लुकास भास्केज र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए।
रियलले कप्तान रामोसको पेनाल्टी गोलबाट सुरूवाति अग्रता लिएको थियो। खेलको ४४ औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। यो रामोसका लागि करियरको १०० औं गोल हो।
पहिलो हाफमा १-० ले अघि रहेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्दै जित सुनिश्चित गर्यो।
खेलको ६८ औं मिनेटमा भास्केजले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। त्यसपछि खेलको ७७ औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई ३-० को सहज जित दिलाए।
यो जितसँगै रियल कोपा डेल रे फुटबलको अन्तिम आठ नजिक पुगेको छ। अब रियलले जनवरी १६ मा उसैको मैदानमा लेगानेससँग दोस्रो लेग खेल्नेछ।