मनाङ मर्स्याङ्दी क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार लिगको नवौ खेलमा च्यासल युथ क्लबलाई ३-१ ले शतप्रतिशत जित निकालेको हो।
मनाङको जितमा एडेलाजा, ओलावाले अफिज र बिमल रानाले एक-एक गोल गरे। च्यासलका लागि देबेन्द्र तामाङले पेनाल्टीबाट एक गोल फर्काए।
खेलको १६ औं मिनेटमा अन्जन विष्टको पासमा एडेलाजाले गोल गर्दै मनाङलाई सुरूवाती अग्रता दिलाएका थिए।
पहिलो हाफमा १-० ले अघि रहेको मनाङले दोस्रो हाफमा थप दुई गोल गर्यो। उसका लागि ७२ औं मिनेटमा अफिजले गोल गर्दै अग्रता दोब्बर पारे।
यस्तै खेलको ८८ औं मिनेटमा बिमल रानाले गोल गर्दै मनाङलाई जितको नजिक पुर्याएका थिए। तर इन्जुरी समयको पहिलो मिनेटमा च्यासलले पेनाल्टीमा गोल गर्दै खेललाई ३-१ मा ल्यायो।
मनाङका डिफेन्डर मोहमद आसिफले डि बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा देबेन्द्रले गोल गरेका थिए।
यो जितसँगै मनाङले जारी लिगमा ९ खेलबाट २७ अंक जोड्दै शीर्ष स्थानमा कायमै रहेको छ। यता पराजित च्यासल १३ अंकसहित तालिकाको सातौ स्थानमा यथावत छ।
२४ अंकसहित संकटा दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको थ्री स्टार २१ अंकसहित तेस्रो स्थानमा छ।