इटालियन सिरी 'ए' फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले १६ खेलसम्म आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
शनिबार राति टोरीनोमाथि १- ० जित निकालेको युभेन्टस १६औं खेलसम्म अपराजित रहन सफल भएको हो।
टुरिन डर्बी भिडन्तमा युभेन्ट्सलाई जिताउन क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ७० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युभेन्ट्सलाई जिताएका हुन्।
जारी लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सले लिगमा ११ अंकको अग्रता कायम राखेको छ।
युभेन्ट्सले १६ खेलबाट ४६ अंक जोड्दा दोस्रो स्थानको नापोलीको ३५ अंक छ। तेस्रो स्थानको इन्टर मिलानको ३२ अंक छ।