पेरिसमा सोमबार राति भएको ब्यालोन डी’ओरको घोषणापछि बिबिसीसँग कुरा गर्दै विजेता लुका मोड्रिचले भने-म यो अवार्ड ती खेलाडीलाई समर्पित गर्छु जसले पछिल्लो १० वर्ष अवार्ड पाउन सकेनन्।
सन् २००७ मा ब्राजिलका काकाले यो अवार्ड पाएका थिए। त्यसपछिका १० वर्ष अवार्डमा अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको दबदबा रह्यो। क्रोएसियाका कप्तान मोड्रिचले यसपालि मेसी र रोनाल्डोको दशक लामो त्यो दबाबदबा तोडिदिए।
‘मभित्रको भावना शब्दमा व्यक्त गर्न मलाई अप्ठेरो भइरहेको छ, यो मेरा लागि केही युनिक हो, केही विशेष हो,’ मोड्रिचले भने।
रोनाल्डो र मेसीको दबदबाप्रति संकेत गर्दै उनले
बितेका वर्षहरूका ब्यालोन डी’ओर जित्न सक्ने अरू खेलाडी भए पनि बल्ल अहिले आएर कोही अरूले यो अवार्ड पाएको बताए।
यही वर्ष भएको रसिया विश्वकपमा क्रोएसिया फाइनलमा पुग्यो। स्लोभेनिया, हंगेरी, सर्विया, बोस्निया एण्ड हर्जगोभिनिया र एड्रियाटिक सीले घेरिएको झन्डै ४२ लाख मानिस बस्ने यो देश पहिलो पटक यसैपालि विश्वकप फाइनलमा पुगेको हो। क्रोएसियालाई फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका निभाए कप्तान लुका मोड्रिचले।
फाइनलमा फ्रान्ससँग हारेपछि क्रोएसिया विश्वकपको उपविजेता बन्यो।
विश्वकपकै उत्कृष्ट खेलाडी बनेर मोड्रिचले गोल्डेन बल पाए। त्यसपछि पनि उनको सफलता निरन्तर उकालो लागिरहेको छ।
यसअघि फिफा वर्ष खेलाडीमा पनि उनले मेसी र रोनाल्डोको दबदबा अन्त्य गरेका थिए।
असोजमा फिफाले उनलाई उत्कृष्ट वर्ष खेलाडी घोषणा गर्यो।
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र इजिप्टका मोहम्मद सलाहलाई पछि पार्दै उनी फिफा उत्कृष्ट खेलाडी जित्ने पहिलो क्रोएसियन बने।
झन्डै २ महिनापछि फेरि मोड्रिचले मेसी र रोनाल्डोको दबदबा तोडे, पहिलो पटक ब्यालोन डी’ओर जिते।
यहाँसम्म आइपुग्न जिन्दगीमा मोड्रिचले खाएको हण्डरठक्करको फेहरिस्त लामै छ।
९ सेप्टेम्बर १९८५मा जन्मिएका हुन्, मोड्रिच। उनका बुवाआमा कारखानामा काम गर्न घरदेखि टाढा जान्थे। मोड्रिच आफ्ना हजुरबुवासँग बस्थे। उनकै काखमा सुत्थे। उनकै काँधमा चढ्थे। हजुरबुवा पनि उनलाई निकै माया गर्थे।
समयको चक्र सधैँ उसैगरि कहाँ चल्छ र? मोड्रिच ६ वर्षका हुँदा उनको गाउँ मोड्रिचीमा केही सर्वियन मिलिसिया आए। त्यतिबेला बाल्कन युद्द चलिरहेको थियो। ती मिलिसियाले केही निर्दोष गाउँलेलाई मारिदिए। मारिनेमा मोड्रिचका प्यारा हजुरबवा पनि थिए। जो वस्तुभाउ चराउन गएका थिए। मिलिसियाले बाँचेकालाई गाउँ छोडेर जान उर्दी दिए।
मोड्रिच पनि आफू जन्मिएको पहाडको काखमा रहेको मोड्रिची गाउँ छोडेर जान बाध्य भए।
बुवाआमाले उनलाई तटीय सहर जदारमा ल्याए। त्यहाँ उनीहरू आन्तरिक शरणार्थी बनेर बसे।
जदारमा मोड्रिचको घर थिएन उनीहरू होटलमा बसे। युद्द जारी थियो। बिजुली र पानीको राम्रो सुविधा नभएको उनीहरूको कोठाबाट बम र ग्रिनेड पड्केको आवाज आइरहन्थ्यो।
मोड्रिच भने होटलभित्रै फुटबल खेल्थे।
‘बम र ग्रिनेड पड्केरभन्दा उनले हानेका बलले होटलका धेरै सिसा फुटे,’ कोलोभेयर होटलका प्रवक्ताले भने,‘उनी जतिबेलामा पनि होटलको हलमा फुटबल खेलिरहेका हुन्थे।’
त्यो ज्यादै कठिन समयमा पनि मोड्रिचले हार मानेनन्।
‘धेरै वर्षसम्म हामी पैसाको अभाव झेल्दै होटलमा बस्यौं। तर मैले कहिल्यै फुटबल छोडिनँ। म अहिले पनि सम्झन्छु पहिलो पटक खुट्टामा सिन प्याड लगाएको। तिनमा ब्राजिलका रोनाल्डो थिए। मलाई ती खुब मन पर्थे,’मोड्रिचले भनेका छन्।
उनले हजुरबुवा गुमाउनु पर्दाको पीडाले आफूलाई बलियो बनाएको बताएका छन्।
‘६ वर्षको हुँदा युद्धले हामीलाई शरणार्थी बनायो। त्यसैले मलाई बलियो पनि बनायो। त्यो म र मेरो परिवारका लागि निकै कठिन बेला थियो। तर म सधैँ त्यही कुरा सम्झिरहन चाहन्न नत सधैँका लागि बिर्सन नै चाहन्छु,’ मोड्रिचले भनेका छन्।
१० वर्षको हुँदा उनलाई धेरै प्रशिक्षक कमजोर र लजालु भएकाले फुटबल खेल्न नसक्ने बताउँथे।
जदारमा उनलाई प्रशिक्षण दिने टोमिस्लाभ बेसिचले भने उनलाई राजधानीको क्लब डिनामो जाग्रेबमा ट्रायल दिन लगाए। २००३ मा उनी सो क्लबमा आवद्ध भए। त्यहीँबाट उनको प्रतिभाले प्रष्फुटन हुने मौका पायो। त्यसपछि भने मोड्रिचले पछाडि फर्कनु परेन।
सन् २००८ मा उनी लण्डनको टोटेनहम हटस्पर गए। चार वर्ष त्यहाँ बिताएपछि सन् २०१२ मा उनी स्पेनिस क्लब रियल मेड्रिड पुगे। उनी अहिले पनि रियलका भरपर्दा मिडफिल्डर हुन्।
जाग्रेबमै हुँदा उनको फुटबल एजेन्ट भान्जा बोस्निचसँग भेट भयो। चिनजान प्रेममा बदलियो। ४ वर्षपछि उनीहरूले विवाह गरे। अहिले उनीहरूका तीन सन्तान छन्।