ब्राजिलले क्यामरूनलाई हराएको छ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार राति भएको खेलमा ब्राजिलले क्यामरुनलाई १-० ले पराजित गरेको हो।
खेलको सुरूमै कप्तान नेयमार घाइते भएर मैदान बाहिरिएका थिए।
खेलको आठौं मिनेटमै नेयमार तिघ्राको चोटका कारण मैदान छोडेपछि उनको स्थानमा एभरटनका रिचार्लीसन मैदान प्रवेश गरेका थिए। मार्किन्होसले कप्तानको जिम्मेवारी पाएका थिए।
उनलाई लगत्तै ब्राजिलको मेडिकल टोलीले परीक्षण गरे पनि अन्य परीक्षणपछि पछि मात्र चोटको अवस्थाबारे थाहा हुने भएको छ।
ब्राजिलका टिम डाक्टर रोद्रिगो लास्मारका अनुसार प्रारम्भिक परीक्षणले उनको चोट गम्भीर नरहेको बताएका छन्। ‘उनको दायाँ तिघ्रामा केहि समस्या देखिएको छ । प्रारम्भीक रुपमा हेर्दा गम्भीर छैन। तर, केही स्क्यान गरेपछि विस्तृत थाहा हुनेछ,’ उनले भने ।
नेइमारको स्थानमा मैदान छिरेका रिचार्लीसनलेनै निर्णायक गोल गरे। उनले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै टोलीलाई जिताएका थिए।
त्यसपछि खेलमा गोल गर्ने केही राम्रा मौका गुमाएको ब्राजिलले अन्तर बढाउन सकेन।
यसअघि उरूग्वेसँगको मैत्रीपूर्ण खेलमा ब्राजिल १-० ले विजयी भएको थियो। नेइमारकै निर्णायक गोलले उक्त खेल जितेको थियो।