जर्मनीसँग उत्कृष्ट पुनरागमन गर्दै बराबरी खेलेको नेदरल्याण्ड युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
दुई गोलले पछि परेको स्थिति उल्ट्याएर नेदरल्यान्डले जर्मनीसँग २–२ गोलको बराबरी खेल्दै अन्तिम चारको यात्रा तय गरेको हो।
यो बराबरीसँगै ४ खेलबाट ७ अंक बनाएको नेदरल्यान्डले लिग ए को समूह १ बाट समूह विजेताको रुपमा प्लेअफमा स्थान बनाउँदा समान खेलबाट समान अंक जोडेको विश्व विजेता फ्रान्स गोल अन्तरमा पछि पर्दै रोकिएको छ। जर्मनी यसअघिनै नै रेलिगेसनका परेको थियो।
सोमबार राति भएको खेलमा घरेलु टोली जर्मनीले खेलको २० मिनेट भित्र नै २–० को अग्रता लिए पनि त्यसलाई बचाउन सकेन।
खेलको नवौं मिनेटमा टिमो वेर्नरको गोलबाट जर्मनीले सुरूवाती अग्रता लिएको थियो। २० औं मिनेटमा लिरोए सानेले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे।
पहिलो हाफ २-० ले पछि परेको नेदरल्यान्ड खेलको अन्तिम समयमा गोल गर्दै उत्कृष्ट पुनरागमन गरेको हो।
खेलको ८५औं मिनेटमा क्वीन्सी प्रोमेसले गोल गर्दै नेदरल्यान्डलाई खेलमा फर्काउने संकेत दिए। त्यसपछि इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमै भर्जिल भान डिजिकले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।
त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो। यो बराबरी नै नेदरल्याण्डका लागि पर्याप्त रह्यो।