लगातार दोस्रो जितसहित थ्री स्टार क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ।
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारको दोस्रो खेलमा थ्री स्टारले ब्रिगेड ब्वाइज क्लबलाई ५-१ ले हराउँदै शीर्ष स्थानमा पुगेको हो।
थ्री स्टारको जितमा रञ्जित धिमाल, सुनिल बल, रञ्जन विष्ट, निराजन खड्का र बिक्रम लामाले गोल गरे। ब्रिगेड ब्वाइजका लागि रजत तिवारीले गोल फर्काए।
खेलको १० औं मिनेटमा रन्जित धिमालको पेनाल्टी गोल मार्फत थ्री स्टारले सुरुवाती अग्रता लिएको थियो। डि एरिया भित्र दिपेन सिंहले निराजन खड्कालाई लडाएपछि रेफ्रिले थ्री स्टारलाई पेनाल्टी दिएका थिए। रन्जित धिमालले पेनाल्टीलाई सजिलै गोलमा परिणत गर्दै सुरूवाती अग्रता दिलाए ।
पहिलो हाफ १-० ले अगाडि रहेको थ्री स्टारले दोस्रो हाफ आक्रमक खेल्दै चार गोल थप्यो।
खेलको ५२ औं मिनेटमा रन्जन विष्टको पासमा सुनील बलले गोल गर्दै थ्री स्टारको अग्रता दोब्बर पारे। खेलको ७४ औं मिनेटमा ब्रिगेड ब्वाइजका लागि रजत तिवारीले गोल गर्दै खेललाई २-१ मा ल्याए।
खेलको ८५ औं मिनेटमा रन्जन विष्टले वन भर्सेस वनमा सहजै गोल गर्दै टोलीको अग्रता ३-१ मा पुर्याए। त्यसको पाँच मिनेट पछि निराजन खड्काले उत्कृष्ट भलि गोल गर्दै खेलमा ४-१ को अग्रता दिलाए।
इन्ज्यूरी समयमा विक्रम लामाले टोलीका लागि पाँचौ गोल गर्दै टिमलाई ५-१ को जित दिलाए।
उनले सुनील बलको क्रस पासमा उत्कृष्ट हेडर गोल गर्दै सुखद पुनरागमन गरे। चोटका कारण करिब ८ महिना मैदान बाहिर रहेका कप्तान बिक्रम लामा ब्रिगेडविरुद्धको खेलसँगै मैदान फर्किएका हुन्।
गत वर्षको अन्तिममा बुढासुब्बा गोल्डकपको फाईनलमा बिक्रमले पुलिसविरुद्धको खेलमा चोट बोकेका थिए। विपक्षी खेलाडीसँग ठोक्किदाँ उनको खुट्टा भाँचिएको थियो।
यो सँगै थ्री स्टारले लिगमा लगातार दोस्रो जित दर्ता गर्दै शीर्ष स्थानमा छ। थ्री स्टारले मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थान हात परेको हो।
यता दुवै खेलमा पराजित ब्रिगेड ब्वाइज अंक तालिकाको पुछारमा छ। यसअघि पहिलो खेलमा थ्री स्टारले फ्रेन्ड्स क्लबलाई २–१ ले पराजित गरेको थियो ।