सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र न्यूरोड टिम एनआरटीबीच भएको खेलमा मनाङ मर्स्याङ्दी २-० ले विजयी भएको छ।
हलचोक मैदानमा सुरू भएको खेलमा मनाङ मर्स्याङ्दीले पहिलो हाफको १६ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्न सफल भएको हो। मनाङ मर्स्याङ्दीका १७ नम्बरका खेलाडीले गोल गर्न सफल भएका हुन्। त्यस्तै दोस्रो गोल खेलको ३८ औं मिनेटमा ३९ नम्बरका खेलाडीले गरेका हुन्। तर, त्यसपश्चात भने कुनै पनि गोल हुन सकेन।
गत असोज १३ गते सुरू भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दसैँ, तिहार तथा छठ पर्वका कारण स्थगित गरिएको थियो। लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन् ।
आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन्। दोस्रो खेल सोही मैदानमा दिउँसो २:३० बजे सुरू हुनेछ।