ओलम्पिक महिला फुटबल अन्तर्गत एसियाली छनोटको पहिलो चरण पार गर्न सफल नेपाली महिला टोलीलाई म्यानमारबासी नेपालीहरूले पटक पटक सम्मानित गरे।
यांगुनस्थित नेपाली दूतावास, नेपालीभाषी वर्मेलीहरूको साझा संस्था म्यान्मा गोर्खा हिन्दु धार्मिक संघको युवा विभाग र गैर आवासीय नेपाली संघले नेपाली महिला फुटबल टोलीलाई सम्मान गरेका हुन्।
सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि भएको छनोट खेलमा नेपालले भारत, म्यानमार र बंगलादेश सबैसँग बराबरी खेले पनि अन्य टिमबीचका खेलका कारण तेस्रो हुँदै नेपाल दोस्रो चरणको लागि छनोट भएको हो।
२२ सदस्यीय फुटबल टोलीका नेता तथा एन्फा पदाधिकारी दिर्घ बहादुर के.सी.ले परदेशमा बसेर पनि नेपाली फुटबललाई माया गरेको भन्दै यहाँस्थित नेपाली दूताबास, नेपालीभाषी म्यान्माली र गैर आवासीय नेपालीलाई धन्यवाद दिए।
नेपाली महिला टिमकी कप्तान निरू थापाले बर्मेली नेपालीहरूको हौसलाले खेलमा उत्साह थपेको भन्दै नेपाली महिला फुटबल खेलाडीहरूले उचित प्रशिक्षण र विभिन्न देशसँग मैत्रीपूर्ण खेल खेल्ने अवसर पाए पदक भित्र्याउन सक्ने विश्वास व्यक्त गरिन्।
नेपाली फुटबल टिमका पूर्व कप्तान र हाल महिला टिमका प्रशिक्षक हरि खड्काले म्यानमारमा खेलाडीहरूले पाएको माया आफ्ना लागि सँधै स्मरणीय हुने उल्लेख गरे। खड्काले भने, ‘छनोट खेलले खेलाडीमा आत्मविश्वास उच्च भएको छ, यही आत्मविश्वासलाई कायम राख्दै खेल्यौं भने साफ (दक्षिण एसियाली खेलकुद) मा अवश्य पनि राम्रो नतिजा आउँछ।’
गैर आवासीय संघले गरेको सम्मान कार्यक्रममा संघका सचिव देवेन्द्र नौलखाले नेपालको प्रतिनिधित्व गर्दै म्यानमार आएर यहाँका नेपालीहरूको सम्मान बढाएको भन्दै खेलाडीको प्रशंशा गरेका थिए।
सम्मान कार्यक्रममा म्यानमारका लागि नेपाली राजदूत भीम उदासले नेपाली महिला खेलाडीहरूले म्यानमारको मैदानमा जुन प्रस्तुति दिए त्यसले देशको प्रतिष्ठा बढेको भन्दै आउँदा खेलका लागि शुभकामना व्यक्त गरे।
नेपालका पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी जोशन श्रेष्ठले राष्ट्रको प्रतिनिधित्व गर्ने मौकालाई अवसरमा परिणत गर्न खेलाडीलाई हौसला प्रदान गरे। यांगुनस्थित नेपाली दुतावासमा भएको सम्मान कार्यक्रमपछि खेलाडीहरूले नाचगान प्रस्तुत गरेका थिए।
ओलम्पिक छनोट दोस्रो चरणका खेलहरु आगामी अप्रिलमा हुनेछ। १० टिम रहने दोस्रो चरणबाट तीन टोलीले तेस्रो चरणमा स्थान बनाउनेछन्।