सन् २०२० मा जापानमा हुने ‘टोकियो ओलम्पिक २०२०’ महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगिता अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गरिरहेको छ।
म्यानमारको यांगोनस्थित थुनुवा रंगशालामा भइरहेको खेलको पहिलो हाफमा नेपालले १-० को अग्रता लिएको छ ।
नेपालको लागि कप्तान निरू थापाले गोल गरेकी हुन्। उनले खेलको १७ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरूवाती अग्रता दिलाएकी हुन्।
नेपाल आजको खेलमा बंगलादेशलाई हराएको खण्डमा दोस्रो चरणमा स्थान पक्का गर्नेछ। नेपालले सुरुवाती २ खेलमा २ बराबरी खेल्दै २ अंक जोडिसकेको छ।
समूहको अन्तिम खेलमा यसपछि भारत र म्यानमार भिड्नेछन्। नेपालको समूहमा कुन स्थान हुनेछ भन्ने टुङ्गो त्यस खेलको नतिजाले तय गर्नेछ।
सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । भिएतानाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेका छन् । हरेक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ ।
दोस्रो चरण छनोटबाट तीन टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणका तीन विजेतासँगै अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ । जसबाट विजयी हुने दुई टिम ओलम्पिकका लागि छानिनेछन् ।