बार्सिलोनाले रियल म्याड्रिडलाई फराकिलो अन्तरमा हराएको छ।
स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले घरेलु मैदानमा रियल म्याड्रिडलाई ५-१ गोल अन्तरमा हराएको हो।
कप्तान लियोनल मेसी बिना मैदान उत्रिएको बार्सिलोनाको जितमा लुइस स्वारेजले ह्याट्रिक गरे भने फिलिप कौटिन्हो, आर्टुरो भिडालले १-१ गोल गरे। रियलका लागि मार्सेलोले एक गोल फर्काए।
खेलको ११औं मिनेटमा फिलिप कौटिन्होले गोल गर्दै खेलमा सुरूवाती अग्रता दिलाए। राकिटिक, स्वारेज र कौटिन्होबीचको राम्रो तालमेल पछि बार्सिलोनाले अग्रता बनाएको थियो।
खेलको ३० औं मिनेटमा बार्सिलोनाले पेनाल्टी मार्फत लुइस स्वारेजले अग्रता दोब्बर पारे। रफिएल भरानले स्वारेजमाथि फल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो। सुरूमा रेफ्रीले पेनाल्टी दिएका थिएनन्। तर, भारको प्रयोगसँगै बार्सिलोनाले पेनाल्टी पाएको थियो।
यो सँगै पहिलो हाफमा २-० ले अघि रहेको घरेलु टोलीले दोस्रो हाफमा थप आक्रमक खेल्यो। तर, दोस्रो हाफको सुरूवातमै मार्सलोको गोलमा रियलले पुनरागमन गर्ने सम्भावना देखायो।
तर खेलको ७५ औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गरेसँगै टिमको अग्रता ३-१ मा पुग्यो। त्यसको ८ मिनेट पछि पुनः स्वारेजले गोल थप्दै ह्याट्रिक पुरा गरे।
आर्टुरो भिडालले अन्तिममा गोल गर्दै बार्सिलोनालाई फराकिलो जित पक्का गरे।