युभेन्टसले युइएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै सतप्रतिशत जित निकालेको छ।
इटालियन क्लब युभेन्टसले ओल्ड ट्राफोर्डस्थित उसकै मैदानमा इंग्लिस क्लब युनाइटेडलाई १–० ले पराजित गरेको हो।
मंगलबार राति युभेन्टसलाई जिताउन अर्जेन्टाइन पाउलो डिब्यालाले निर्णायक गोल गरे।
खेलको १७औं मिनेटमा गोल गर्दै युभेन्टसले सुरूवाती अग्रता लिएको थियो। रोनाल्डोको क्रस पासमा जुवान कोर्डाडोले उपलब्ध गराएको पासलाई डिब्यालाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए।
पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई दवावमा राखेको युभेन्टसले गोलका केही राम्रा मौका खेर फालेको थियो।
खेलको २२ औं मिनेटमा क्यानसिलोको प्रहार युनाइटेडका गोलरक्षक डेभिड हे जियाले कठीन बचाउ गरेका थिए। यस्तै ३०औं मिनेटमा पिजानिकले गरेको कडा प्रहार पोष्ट बारमाथिबाट आकासिएको थियो ।
३८औं मिनटमा करिब ३० यार्डबाट रोनाल्डोले प्रहार गरेको फ्रिकिक गोलरक्षक डेभिडले मुस्किलले बचाए पछि आफ्नो पूर्व क्लबविरूद्ध गोल गर्ने मौका रोनाल्डोले गुमाएका थिए।
पहिलो हाफमा १-० ले पछि परेको घरेलु टोलफले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि गोल गर्न सकेन।
खेलको ७५ औं मिनेटमा पल पोग्वाको प्रहार बारमा लागेर फर्कदा युनाइटेडले बराबरी गर्ने मौका गुमाएको थियो।
८३ औं मिनेटमा पाएको राम्रो मौकालाई मार्सियलले खेर फाले। त्यसपछि थप गोल भएन र युनाइटेड घरेलु मैदानमा १–० ले पराजित भयो।
यो सँगै समूह ‘एच’ मा अपराजित युभेन्टस ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ। युभेन्टससँग पराजित भएको युनाइटेड ४ अंकसहति दोस्रो स्थानमा यथावत छ।