स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ।
विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालय बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटिको म्याड्रिडले चन्द्रागिरि नगरपालिकास्थित वेष्ट काठमाडौं फुटबल क्लबलाई सहयोग गर्ने भएको हो।
क्लबका इन्टरनेशनल एक्सपान्सन एण्ड एकेडेमी म्यानेजर फर्नाण्डो लोपेज र बिबी ट्रष्टका भवन भट्टबीच दुई पक्षीय सम्झौतामा हस्ताक्षर भयो।
बिबी ट्रष्ट र एथ्लेटिको म्याड्रिडबीच शुक्रबार काठमाडौंमा सहमतिपत्रमा हस्ताक्षरपछि क्लबले ट्रष्टमार्फत वेष्ट काठमाडौं फुटबल क्लबलाई सहयोग गर्ने भएको हो।
कार्यक्रममा दुवै क्लबको लोगो अंकित जर्सीसमेत सार्वजनिक भएको थियो। बिबी ट्रष्टलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले सञ्चालन गर्दै आएका छन्।
यो सम्झौताले नेपाली फुटबलमा नयाँ आयाम थप्न सफल हुने सम्झौतापछि भट्टले सतोपाटीलाई बताए। एथ्लेटिको म्याड्रिडका बजार प्रवन्धक लीपेजले यो क्लबको सुरुवाती सहयोग मात्र भएको भन्दै पछिल्ला दिनमा यसको दायरा फराकिलो हुने दाबी गरे।
एथ्लेटिको म्याड्रिड फाउण्डेशनका अध्यक्ष पाब्लो लागोसँग एनआरएन केन्द्रीय अध्यक्षसहितको टोलीले भेटेपछि यो योजनाको प्रारम्भ भएको थियो।
यस्तो सहयोगका लागि क्लबले आफ्नो कुल बजेटको एक प्रतिशत रकम छुट्याउने गरेको छ।
क्लबले अहिले पोर्चुगल, निकारागुआ, मोरक्को, भारत र हाईटीलगायत स्पेनमा नै ११ वटा सामाजिक विद्यालयमा सहयोग क्लबले सहयोग गरिरहेको छ।
नेपाल र स्पेनको फुटबललाई जोड्ने अभियानका सक्रिय रुपमा लागिपरेका एनआरएनए युरोप क्षेत्रका उपसंयोजक एकराज गिरीले सुरूवातमा क्लबलाई खेल सामाग्री र डाईट तथा जर्सी सहयोग हुने र कालान्तरमा यसमा बढ़ावा हुँदै जाने बताए।
उनका अनुसार सुरूआतमा ८० खेलाडीका लागि खेलकुद सामाग्रीसमेत प्रदान गर्ने तय भइसकेको छ ।
केन्द्रीय अध्यक्ष भट्टसहित एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहाल, एनआरएन अनररी परिषद् समिति सदस्य गोविन्द सुवेदी लगायतको टोलीले गैरआवासीय नेपाली संघ र एथ्लेटिको म्याड्रिडबीच सम्झौता गर्ने प्रयास गरेको थियो।
तर, नेपाल बाहिर बस्ने नेपालीहरुको संस्था भन्ने अर्थ लागेपछि एनआरएनएसँग सम्झौता गर्न क्लब तयार भएन। उसले राजधानीकै क्लब खोज्यो। त्यसपछि बीबी ट्रष्टबाट प्रक्रिया अघि बढ्यो र यही ट्रष्ट मार्फत चन्द्रागिरिमा रहेको वेष्ट काठमाडौं फुटबल क्लबबाट प्रपोजल पेश भएपछि सहमति जुटेको हो।
स्पेनिस क्लबहरुले विश्वका बिभिन्न मुलुकहरुमा आफ्ना फाउन्डेशनमार्फत सहयोग मात्र गरेका छैन, खेलाडीहरुलाई अबसर पनि दिएका छन्। त्यसैले यो नेपाल र क्षमतावान नेपाली खेलाडीहरुका लागि पनि ठूलो अवसर पनि हो ।
हरेक वर्ष भएको प्रगती विवरण अनुसार नै सहयोगको मात्रा बढ्दै जाने हुँदा यो आफैंमा चुनौतीपूर्ण पनि छ।