नेदरल्यान्डले जर्मनीलाई फराकिलो अन्तरमा हराएको छ।
सन् २०१४ को विश्वविजेतासमेत रहेको जर्मनी युइएफए नेसन्स लिग ‘ए’ अन्तर्गतको समूह १ को खेलमा नेदरल्यान्डसँग ३–० ले स्तब्ध भएको हो ।
नेदरल्यान्डलाई सहज जित दिलाउन भर्जिल भान डिजिक, मेम्फिस डिपे र जर्जिन्हो विज्नल्डमले गोल गरेका थिए।
नेदरल्यान्डको जोहान क्रुफ एरिनामा शनिबार राति भएको खेलको ३०औं मिनेट घरेलु टोलीले अग्रता लिएको थियो।
भर्जिल भान डिजिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको नेदरल्यान्डले दोस्रो हाफमा थप २ गोल गर्यो।
खेल सकिन तीन मिनेट बाँकी रहँदा नेदरल्यान्डले तीन मिनेटको अन्तरमा २ गोल गर्दै जर्मनीलाई ३–० ले स्तब्ध पार्यो।
८७ औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्डको अग्रता दोब्बर पारे। ९० औं मिनेटमा जर्जिन्हो विज्नल्डमले गोल गर्दै खेल ३-० ले आफ्नो पक्षमा पारेका थिए।
पछिल्लो समय रसिया विश्वकपमा खराब प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएको थियो।
पछिल्लो दुई खेलमध्ये जर्मनीले फ्रान्ससँग बराबरी खेल्दा पेरूमाथि २–१ को संघर्षपूर्ण जित निकालेको थियो।
जितपछि नेदरल्यान्ड समूह १ मा ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। हारपछि जर्मनी १ अंकसहित पुछारमा छ। यो समूहमा फ्रान्स ४ अंक जोडेर शीर्ष स्थानमा छ।