रोनाल्डोबिनै मैदान उत्रिएको पोर्चुगलले पोल्याण्डमाथि कठीन जित निकालेको छ।
युइएफए नेसन्स लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा पोर्चुगलले पोल्यान्डलाई ३–२ ले हराएको हो।
पोल्यान्डको चर्जोस्थित सिलेसियन स्टेडियममा भएको खेलमा पोर्चुगल खेलको १८औं मिनेटमै पछि परेको थियो। घरेलु टोलीका लागि क्रिस्टप पियाटेकले कुर्जावाको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर, खेलको ३१ औं मिनेटमा पोर्चुगल खेलमा फर्कदै बराबरी गोल गर्यो। पोर्चुगलका लागि आन्द्रे सिल्भाले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
यस्तै खेलको ४३ औं मिनेटमा कामिल जिलिकले आत्मघाती गोल गरेपछि पोर्चुगल पहिलो हाफमै २–१ ले अघि बढेको थियो।
दोस्रो हाफको ५२औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गरेपछि पोर्चुगलले खेलमा ३–१ को सहज अग्रता बनाएको थियो। विलियम कार्भालोको पासमा सिल्भाले गोल गरेका थिए।
त्यसपछि खेलमा सुधारिएको प्रदर्शन थालेको घरेलु टोलीले पोर्चुगललाई दबाबमा राख्यो।
खेलको ७७ औं मिनेटमा जाकुव ब्लाजसेज्नीवस्कीले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरे।
तर खेलमा हाबी भए पनि त्यसपछि पोल्याण्डले गोल गर्न सकेन र खेल ३-२ ले गुमायो।
यो जितसँगै पोर्चुगल समुह ‘ए’ मा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ।