भूटानमा हालै सम्पन्न साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बन्न सफल नेपाली महिला टोलीका प्रत्येक सदस्यलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनही ५० हजार दिने घोषणा गरेको छ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले यू–१८ महिला राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई जनही ५० हजार दिने निर्णय गरेको हो।
फाइनलमा नेपाली टोली बङ्गलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो।
सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउँदै नेपाल उपाधि भिडन्तमा पुगेको थियो।
प्रतियोगितामा नेपालकी फरवार्ड रेखा पौडेल सर्वाधिक गोलकर्ता बनेकी थिइन्।
नेपाली महिला फुटबल टोली आजै स्वदेश फर्कने कार्यक्रम रहेको एन्फाले जनाएको छ।
नेपाली टोली भुटान एयरबाट बुधबार दिउँसो २:३५ बजे नेपाल आईपुग्ने कार्यक्रम छ।