अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिगका खेलको टाइटल प्रायोजनसहित बजार प्रवर्द्धन अधिकार साढे चार करोड रुपैयाँमा बेचेको छ।
एन्फाले तीन वर्षका लागि उक्त अधिकार रामसार मिडियालाई बेचेको हो। सम्झौता अनुसार ए डिभिजनका ९१ खेलको टाइटल प्रायोजन र बजार प्रवर्द्धनमा रामसार मिडियाले यो वर्ष एक करोड, २०७६ मा डेढ करोड र २०७७ मा २ करोड रुपैयाँ एन्फालाई दिनेछ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले रामसार मिडियाले लिगको टाइटल प्रायोजन, रंगशालामा राखिने होर्डिङ बोर्ड, सञ्चारमाध्यम, सामाजिक सञ्जाल, विद्यालय, क्याम्पस र सार्वजनिक यातायातमा गरिने प्रचारको अधिकार पाएको बताए।
सम्झौतामा एन्फा अध्यक्ष शेर्पा र रामसार मिडिया प्रबन्ध निर्देशक राज हुमागाईंले हस्ताक्षर गरेका छन्।