क्रिष्टियानो रोनाल्डो, लुका मोड्रिक र मोहम्मद सलाह युइएफए वर्ष खेलाडी अवार्डका लागि अन्तिम मनोनयनमा परेका छन्।
युरोपियन फुटबलको प्रशासकीय निकाय, युइएफएले हरेक वर्ष प्रदान गर्ने युइएफए वर्ष खेलाडी अवार्डका लागि युभेन्टसका नयाँ स्ट्राइकर रोनाल्डो, रियल मड्रिडका मिडफिल्डर मोड्रिक र लिभरपुलका फरवार्ड सलाह अन्तिम तीनमा परेका हुन् । गएको सिजन रियल मड्रिडलाई लगातार तेस्रोपटक युरोपियन च्याम्पियन बनाएका रोनाल्डो यो सिजन ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएका हुन्।
रियलले अघिल्लो सिजनको च्याम्पियन्स लिग जितेको थियो । रोनाल्डोले रियलबाट कीर्तिमानी पाँचपटक च्याम्पियन्स लिगको उपाधि तथा लगातार तीनपटक च्याम्पियन्स लिग जित्न सफल भएका थिए । उनी च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता पनि हुन् ।
यस्तै रियलमा अघिल्लो सिजन उत्कृष्ट समय बिताएका मिडफिल्डर लुका मोड्रिच पनि अन्तिम तीनमा पर्न सफल भए । गोल्डेन बल विजेता मोड्रिचकै कप्तानीमा क्रोएसिया रसिया विश्वकपको उपविजेता बन्न सफल भएको थियो।
इजिप्टका सलाहले इंग्लिस प्रिमियर लिगको डेब्यु सिजनमै उच्च प्रदर्शन गर्दा ४४ गोल गर्न सफल भएको थियो। च्याम्पियन्स लिगमा लिभरपुल उपविजेता बनाउन सलाहले उच्च प्रदर्शन गरेका थिए।
खेलाडी छनोट अघिल्लो वर्ष घरेलु लिग, कन्टिनेन्टल र अन्तर्राष्ट्रिय स्तरमा खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै च्याम्पियन्स लिग र युरोपा लिगका विभिन्न ८० प्रशिक्षक र युरोपियन स्पोर्टस् मिडिया (इएसएम) ग्रुपका ५० जना खेल पत्रकारले गरेका हुन् । जुरी सदस्यले पहिलो स्थानको लागि ५ अंक, दोस्रो स्थानको लागि ३ र तेस्रो स्थानको लागि १ अंक प्रदान गर्दै छनोट गरेका हुन् ।
बार्सिलोनाका सुपरस्टार लियोनेल मेसी भने शीर्ष तीनमा पर्न सकेनन् ।
अन्तिम तीनमा परेकाबाटै वर्ष खेलाडीको छनोट हुनेछ। आगामी भदौ १४ गते मोनाकोमा हुने च्याम्पियन्स लिग फुटबलको समूह चरण ड्र को क्रममा वर्ष खेलाडीको घोषणा हुने युइएफएले जनाएको छ। यसअघि सन् २०१७ मा रोनाल्डोले उक्त अवार्ड जितेका थिए।
यस्तै महिला वर्ष खेलाडीका लागि पिर्निली हार्डर, एडा हेगरबर्ग र एमान्डिन हनरी अन्तिम तीनमा परेका छन्।
शीर्ष दश खेलाडीहरू
शीर्ष १० मा पर्न सफल बाँकी खेलाडीहरु
- एन्टोइन ग्रिजमन (एट्लेटिको मड्रिड/फ्रान्स) – ७२ अंक
- लियोनेल मेसी (बार्सिलोना/अर्जेन्टिना) –५५ अंक
- केलियन एमबाप्पे (पिएसजी/फ्रान्स) –४३ अंक
- केभिन डि ब्रुएन (म्यानचेस्टर सिटी/बेल्जियम) – २८ अंक
- राफइल भरान (रियल मड्रिड/फ्रान्स) –२३ अंक
- इडेन हजार्ड (चेल्सी/बेल्जियम) – १५ अंक
- सर्जियो रामोस (रियल मड्रिड/स्पेन) –१२ अंक
पूर्व विजेता
- २०११– लियोनेल मेसी (बार्सिलोना/अर्जेन्टिना)
- २०१२– आन्द्रेस इनिस्टा (बार्सिलोना/स्पेन)
- २०१३– फ्रान्क रिवेरी (बायर्न म्युनिख/फ्रान्स)
- २०१४– क्रिस्टियानो रोनाल्डो (रियल मड्रिड/पोर्चुगल)
- २०१५ – लियोनेल मेसी (बार्सिलोना/अर्जेन्टिना)
- २०१६ – क्रिस्टियानो रोनाल्डो (रियल मड्रिड/पोर्चुगल)
- २०१७ – क्रिस्टियानो रोनाल्डो (रियल मड्रिड/पोर्चुगल)