हालै मात्र बार्यन छाडेर बार्सिलोना आएका आर्टुरो भिडालले लियोनल मेसीसँग खेल्न पाउनु ठूलो मौका भएको बताएइका छन्।
चिलीका मिडफिल्डर भिडाल सोमबार बुन्डेसलिगा च्याम्पियन बायर्न छाडेर बार्सिलोना गएका हुन्।
३१ वर्षीय भिडाललाई बार्सिलोनासँग तीन वर्षको लागि २० मिलियन युरोमा सम्झौता गरेको हो।
उनलाई इटालियन सिरी ए क्लब इन्टर मिलानले पनि भित्र्याउन खोजेको थियो। तर उनले बार्सा रोजेका हुन्।
भिडालले बार्सिलोनाको खेलाडीका रुपमा पहिलो पटक बोल्दै भने, ‘साँचो अर्थमा म यहाँ खुशी छु । बार्सिलोको जर्सी लगाएर खेल्न उत्सुक छु,’ उनले भने, ‘मेसीसहित लुइस स्वारेज, सर्जिओ बस्क्वेट…जस्ता साथीहरुसँग यति धेरै प्रख्यात जर्सी लगाएर अभ्यास गर्न र टोलीका लागि महत्वपूर्ण योगदान गर्न आतुर छु।’
आफूले नयाँ क्लबमा नयाँ चुनौतीसहित धेरै जित्न चाहेको पनि बताएका छन् ।
‘यहाँ आउनु मेरा लागि एउटा सपना हो। म मेरो उद्धेश्य पुरा गर्ने आशा राख्छु। म यहाँ भएजति सबै ट्रफी जित्न आएको हो र म मैदानमा यसको लागि जे गर्न पनि तयार छु। यसले गर्दा मेरा साथीहरुलाई खेल जित्न सहयोग गर्नेछ,’ उनले भने।
उनले आफू बार्सा रहेसम्म खेलेका सबै खेल जित्ने लक्ष्य राखेको बताए। ‘तीन बर्षको अनुबन्धन् अवधिमा म आशा गर्छु कि हामी खेलेका सबै खेल जित्ने छौं।’
यसअघि युभेन्टसमा रहेका भिडालले इटालियन लिग उपाधि जितेका छन्। बायर्नमा उनले तीनै सिजन लिग जितेका थिए।