जमैकाका कीर्तिमानी धावक उसेन बोल्ट अब फुटबलमा करियर बनाउने भएका छन्। ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका उनी फुटबलमा करियर बनाउन भन्दै ट्रायलका लागि अष्ट्रेलिया पुगेका हुन्।
बिबिसीका अनुसार बोल्टले अष्ट्रेलियाको ए डिभिजनको क्लब सेन्ट्रल कोष्ट मरिनर्समा ट्रायल दिन सुरू गरेका छन्।
३१ वर्षिय बोल्टलाई सम्भवत उक्त क्लबले व्यवसायिक फुटबल खेल्ने मौका दिनेछ।
क्लबका सीईओ शान माइलेकम्पलेले बोल्ट र क्लबबीच पछिल्लो चार महिनादेखि कुरा भईरहेको र एक सिजनको लागि सम्झौता हुनेसक्ने बताएका छन्।
यस्तै फुटबल एजेन्ट टोनी राल्लिसले क्लब र बोल्ट लगभग सम्झौता नजिक पुगेका बताएका छन् ।
गत बर्ष ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका बोल्टले पछिल्लो समय जर्मन क्लब बोरूसिया डर्टमण्डबाट प्रशिक्षण लिएका थिए।
यस्तै उनले नर्वे र दक्षिण अफ्रीकाका क्लबमा समेत ट्रायल दिएका थिए।
गत बर्षको अगस्टमा विश्व च्याम्पियनसिप दौरान ह्यामस्ट्रिंङ्ग भएपछि बोल्टले ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका थिए।
१०० मिटरमा विश्व किर्तिमान समेत राखेका उनी शताब्दीकै उत्कृष्ट धावक मानिन्छन्। बोल्टले आफ्नो खेल करियरमध्ये ओलम्पिक खेलकुदमा मात्र ८ वटा स्वर्ण पदक जितेका छन्। बोल्ट ट्रयाक एण्ड फिल्डमा हालसम्मकै सफल धावक समेत हुन्।