क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टसमा आवद्ध भएका छन्। १०० मिलियन पाउण्ड रियल मड्रिडलाई युभेन्टसले तिरेर रोनाल्डो भित्र्याएको हो।
योसँगै रोनाल्डो र युभेन्टसबीच चार वर्षे सम्झौता समेत हुने भएको छ। रोनाल्डोलाई भेट्न इटालियन क्लब युभेन्टसका अध्यक्ष आन्द्रे आग्नेली अजि ग्रिस पुगेका थिए। रोनाल्डो र क्लबबीच ग्रिसमै भोलि अन्तिम सम्झौता हुनेछ।
यसअघि रोनाल्डो भित्र्याउन सिरी ए च्याम्पियन युभेन्टसले रियललाई गत साता ८८ मिलियन पाउण्डको प्रस्ताब गरेको थियो।
समाचार अनुसार रोनाल्डोले युभेन्टससँग हरेक सिजन ३० मिलियन पाउण्ड पाउने गरी चार बर्षे सम्झौता गर्ने बताईएको छ।
सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा मड्रिड आएका रोनाल्डोको रियलसँगको अनुबन्ध सम्झौता अझै ३ बर्ष बाँकी थियो।
रोनाल्डोले गत सिजनमात्र सन् २०२१ सम्मको लागि सम्झौता नविकरण गरेका थिए । तर, रोनाल्डो रियलमा खुसी नरहेको र सम्झौता बाँकी रहदै क्लब छाड्ने मनस्थितिमा पुगेका हुन्।
३३ वर्षीय रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्तासमेत हुन्। उनले रियलका लागि ४ सय ५१ गोल गरिसकेका छन्।
६ वर्ष म्यान्चेष्टर युनाइटेडमा बिताएर रियल मड्रिड आएका पाँच पटकको बालोन डी'ओर बिजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थियो। यस्तै दुई लिग च्याम्पियनसिप र ३ फिफा क्लब फुटबल जिताएका थिए।
पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले आफ्नो देशलाई रसिया विश्वकपको अन्तिम १६ सम्म पुर्याएका थिए। अन्तिम १६ को पहिलो खेलमा उरूग्वेसँग पराजित हुँदै विश्वकपबाट बाहिरिएका थिए।