स्पेनका राष्ट्रिय टिमका स्ट्राइकर फर्नान्डो टोरेस जापानको शीर्ष डिभिजनको क्लबमा अनुबन्धित भएका छन् ।
स्पेनिस क्लब एथ्लेटिको मड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका टोरेस जापानको जे लिग क्लब सगन टोसुसँग आबद्ध भएका हुन्।
मंगलबार उनले जापानी क्लबका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। यद्यपी सम्झौताबारे पुरा केही खुलाइएको छैन।
लिभरपुल र चेल्सीबाटसमेत फुटबल खेलिसकेका टोरेसले जापानी क्लबबाट ९ नम्बरको जर्सी लगाउने छन्।
सम्झौतापछि मंगलबार आयोजित कार्यक्रममा बोल्दै टोरेसले युरोपियन क्लबबाट पनि विभिन्न अफर आएको तर नयाँ ठाउँमा चुनौती लिन चाहेकोले जापानिज क्लब रोजेको बताए।
‘मलाई यसअघि फ्रान्स, जर्मनी र स्पेनकै केही क्लबबाट राम्रो अफर आएको थियो। तर, म नयाँ ठाउँमा नयाँ चुनौतीको सामना गर्न चाहेको भएकाले जापानी क्लबलाई रोजेँ,’उनले भने।
सन् २०१६ बाट एथ्लेटिको मड्रिडका नियमित सदस्य टोरेसको क्लबसँगको अनुबन्धन सम्झौता सिजनको अन्त्यसँगै सकिएको थियो। एथ्लेटिको बाटै फुटबल करियर सुरु गरेका टोरेसले सन् २००१ देखि २००७ सम्म एथ्लेटिकोमा खेलेका थिए।
सन् २००७ देखि २०११ सम्म इंग्लिश क्लब लिभरपुल र त्यसपछि सन् २०१५ सम्म चेल्सीबाट खेलेका थिए।
टोरेसले ३१४ खेलमा १२६ गोल गरिसकेका छन्।
सन् २०१५ मा चेल्सीबाट इटालियन क्लब एसी मिलान गएका टोरेस मिलानमा एक सिजन खेल्दै सन् २०१६ मा पुनः एथ्लेटिको मड्रिड फर्किएका थिए।
सन् २०१० को विश्व विजेता स्पेनका लागि महत्वपूर्ण सदस्य ३४ वर्षिय टोरेसले स्पेनका लागि अन्तर्राष्ट्रिय ११० खेलबाट ३८ गोल गरेका छन्।