संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूलाई पढाउने भएको छ।
संसदीय प्रक्रिया नबुझेको भन्दै सांसदहरूले सचिवालयलाई अभिमुखीकरण कार्यक्रम राख्न माग गरेका थिए।
सांसदहरूको मागकै आधारमा सचिवालयले बुधबार र बिहिबार दिनभर संसद भवनमा संसदीय प्रक्रिया र विधि पढाउन लागेको हो।
सचिवालयका अनुसार राजनीतिक विश्लेषक अच्युत वाग्लेले संघीयताबारे सांसदहरूलाई पढाउनेछन्। त्यस्तै, कानून निर्माणको प्रक्रिया र सांसदको सहभागिताबारे पूर्व कानून सचिव कमलशाली घिमिरे र कानून आयोगका अध्यक्ष माधव पौडेलले कक्षा सञ्चालन गर्नेछन्।
दुई दिन चल्ने कक्षामा बजेटबारे पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले पढाउने छन्। त्यस्तै, पूर्व सांसद लालबाबु प्रसाद यादवले सांसदको जनतासँगको सम्बन्धबारे अन्तरक्रिया गर्नेछन्।
त्यसैगरी, पूर्व सांसद रमेश लेखकले संसदीय समितिको क्षेत्राधिकार, भूमिकामा विषयमा कक्षा सञ्चालन गर्नेछन्। संसद सचिवालयका सचिव वीरेन्द्रबहादुर कार्कीले संसदको कार्यव्यवस्था परामर्श शाखाबारे जानकारी दिनेछन्।
कार्यव्यवस्था शाखाले संसद बैठक सञ्चालन गर्ने काम गर्छ। त्यस्तै, संसद बैठकअघि छलफल गर्ने लगायतका काम गर्छ। सांसदहरूलाई पूर्व सभामुख एवम् नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान निर्माणको प्रक्रिया र संविधानमा भएको संघीय व्यवस्थापिकाको विषयमा पढाउने छन्।
संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले भने कक्षा नभइ सांसदहरूलाई जानकारीमुलुक कार्यक्रम राखिएको बताए। उनले यसअघिको संविधानसभाको कामबारेका पुस्तकहरू सांसदहरूलाई वितरण गर्ने तयारी भैरहेको सेतोपाटीलाई बताए।
सभामुख कृष्णबहादुर महराले सांसदहरूलाई अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्नेछन्।
यसपटक संसदमा धेरै नयाँ सांसद भएकाले अभिमुखिकरण सञ्चालन गर्न लागिएको सचिवालयले जनाएको छ।