काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका जनताले अब नागरिकता बनाउनकै लागि जिल्ला सदरमुकाम धुलिखेलसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
बुधबारदेखि महाभारत गाउँपालिकाको बनखुचौरमा इलाका प्रशासन कार्यालय स्थापना गरी विधिवत्रुपमा सेवा प्रवाह शुरु गरेपछि डाँडापारि बासिन्दाका लागि नागरिकता बनाउनकै लागि सदरमुकाम धाउनै पर्ने बाध्यताको अन्त्य भएको हो ।
काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत र जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले कार्यालय उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन्।
गाउँमा नै इलाका प्रशासन कार्यालय स्थापना भएपछि पहिलोपटक महाभारत गाउँपालिकाका–६ का मकरबहादुर थिङ र नानीमाया थिङका छोरी अनिता थिङ र छोरा प्रवीण थिङले नागरिकताको प्रमाणपत्र लिए ।
इलाका प्रशासन कार्यालय स्थापना गरेर आफ्नै घर आँगनबाट सेवा लिन पाएकोमा धेरै खुशी लागेको उनीहरुको भनाइ छ ।
'नागरिकता बनाउनकै लागि तीन-चार दिनसम्म लगाएर धुलिखेल गएर बनाउनुपथ्र्यो, त्यही कारणले नबनाइकन बसिरहेका थियौँ, अहिले आफ्नै घर आँगनमा कार्यालय स्थापना गरेपछि यहीँ नागरिकता बनाउन आएका हौँ ', उनीहरुले भने, 'अब हाम्रा लागि नागरिकता बनाउन हजारौँ खर्च गरेर सदरमुकाम धाउनु पर्ने दिन गए, यसैमा धेरै खुशी छौँ ।'
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले सेवाग्राहीले नजिकको ठाउँबाट सेवा पाउने इच्छाअनुसारको सेवा प्रदान गर्न उक्त कदम चालेको बताए।