निराजन खड्काको ह्याट्रिक प्रेरित थ्री स्टार क्लब धरानमा जारी २० औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार धरानमा भएको अन्तिम क्वार्टरफाइनलमा सुदूरपश्चिम ११ लाई ४–० को फराकिलो अन्तरले हराउँदै थ्री स्टार बुढासुब्बाको अन्तिम चारमा पुगेको हो।
थ्रि स्टारको जितमा खड्काको ह्याट्रिकसँगै सुनिल बलले थप गोल गरेका थिए। अब फाइनल प्रवेशका लागि बिहीबार थ्री स्टारले भारत कोलकाताको दुर्गापुरस्टिल एफसीको सामना गर्नेछ।
दुर्गापुर आयोजक धरानलाई सडन डेथमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। अर्को सेमिफाइनल नेपाल पुलिस क्लब र सिएमजी क्लब संकटाबीच हुनेछ ।
खेलको सातौ मिनेटमा निराजनको गोलबाट अग्रता लिएको थ्री स्टारका लागि सुनिलले ३७ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए।
पहिलो हाफ २-० ले अघि रहेको थ्रि स्टारका लागि रजिन धिमालको क्रसमा ५४ औं मिनेटमा निराजनले गोल गर्दै अग्रता तेब्बर बनाए। इन्जुरी समयको तेस्रो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पुरा गरेका निराजन प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीसमेत भएका छन्।
जारी प्रतियोगितामा ह्याट्रिक गर्ने नीराजन पहिलो खेलाडी समेत बनेका छन्।