पूर्वेली क्लब धरान फुटबल क्लबलाई १-० को झिनो अन्तरले हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब १६ औं आहा-रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ। उपाधिका लागि पुलिसले शनिबार थ्री स्टारको सामना गर्नेछ ।
पुलिसको जितमा सुमन लामाले खेलको २३ औं मिनेटमा गोल गरे। पेनाल्टी मार्फत गरेको गोल नै पुलिसका लागि पर्याप्त भयो।
धरानका रोमन लिम्बुले रवि पासवानलाई लडाएपछि पाएको पेनाल्टी सुमनले गोलमा परिणत गरेका हुन्।
दोस्रो हाफमा ८२ औं मिनेटमा धरानका बर्तमान राईले गोल गरे पनि रेफ्रीले त्यसलाई अफसाइड दिएका थिए।
२०५८ सालको काराभान कपयता यो पुलिसको नवौं फाइनल हुनेछ । पछिल्ला ८ फाइनलमध्ये पुलिसले ५ मा जित हासिल गरेको छ।
थ्री स्टारले बुधबार बंगलादेशी क्लब उत्तर बरिधारालाई ५-० को फराकिलो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो।