चेल्सीलाई हराउँदै आर्सनल काराबाओ फुटबलको फाइनलमा पुगेको छ ।
लिग कप (काराबाओ कप) अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा चेल्सीलाई २–१ ले हराउँदै समग्रमा २–१ कै जितसहित प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पहिलो लेगमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । घरेलु मैदानमा भएको दोस्रो लेगमा आर्सनल सुरुमा पछि परेर पनि चेल्सीलाई हराउन सफल भएको हो।
सातौँ मिनेटमा नै इडन हजार्डले गोल गर्दै भ्रमण टोली चेल्सीलाई सुरुवाति अग्रता दिलाए । तर त्यसको पाँच मिनेटपछि चेल्सीका एन्टोनियो रुडिगरले आत्मघाती गोल गरेपछि खेलमा १–१ को भयो ।
पहिलो हाफमा १–१ बराबरी भएको खेलमा ६७ औँ मिनेटमा ग्रानिट जाकाले गोल गर्दै आर्सनललाई २–१ के जित दिलाए । यो जितसँगै आर्सनलले फाइनलमा म्यानचेस्टर सिटीसँगको भेट पक्का गरेको छ ।
आर्सेन वेङ्गरको टिम आर्सनल एलेक्स सान्चेज म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएपछि आफूलाई थप बलियो रुपमा प्रस्तुत गर्दै आएको देखिएको छ ।
सान्चेज म्यानचेस्टर युनाइटेड गएको दुई दिनपछि नै आर्सनल प्रभावशाली जित निकाल्दै लिग कपको फाइनलमा पुगेको हो । फाइनल खेल आउँदो फेब्रुअरी २५ मा वेम्बलीमा हुनेछ ।