मदन भण्डारी गोल्डकपको पहिलो सेमिफाइनल खेलमा बुधबार थ्रीस्टार क्लबले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबको सामना गरिरहेको छ।
यसअघि सुदूरपश्चिममा आयोजित खप्तड गोल्डकपको क्वाटरफाइनलमा आर्मीसँगै पराजित भएर घर फर्किएको ललितपुरे टोली थ्रीस्टारले आज आर्मीलाई रोक्ने कोशिश गर्नेछ।
प्रतियोगिताको क्वाटरफाइनलमा थ्री स्टारले एपिएफलाई २-१ ले पराजित गर्दै आर्मीसँगको भेट पक्का गरेको हो।
पुनरागमनको पहिलो प्रतियोगितामा असफल भएपनि टोलीमा नाम चलेका खेलाडीको बाहुल्यता छ । यता आर्मीले क्वाटरफाइनलमा भुटानको ड्रुक फुटबल क्लबलाई ५-० को फरकिलो अन्तरले पराजित गर्दै आफ्नो दबदबा कायमै राखेको छ। केही दिनअघि सुदूरपश्चिम गोल्डकपको उपाधिसमेत जितेको टोली उच्च मनोबलसहित मैदानमा उत्रिने भएको छ।
आर्मीले जारी सिजनमा ४ प्रतियोगितामाथि कब्जा जमाइसकेको छ । विरगंजको विशाल स्मृति गोल्डकपबाट सुरु भएको विजय यात्रा गत महिना झापामा सताक्षी गोल्डकप र मेची नेत्रालयल काँकडभिट्टा गोल्ड कपसँगै निरन्तरता पाएको थियो । गत साताको खप्तड गोल्डकप आर्मीको चौथो उपाधि हो ।