थ्री स्टारलाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिममा जारी खप्तड गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
यो वर्षको अहिलेसम्मको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लबले बिहिबार थ्री स्टार क्लबलाई २-१ गोल अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो।
आर्मीले यो वर्ष तीन वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेको छ ।
खेलको छैठौं मिनेटमा नवयुग श्रेष्ठको गोलबाट खेलमा अग्रता लिएको आर्मीले पहिलो हाफ १-०ले अगाडि रह्यो। यस्तै खेलको ४९औं मिनेटमा सुमन अर्यालले गोल गर्दै अग्रता दोब्बर पारे।
२-० गोल अन्तरले पछि परेको थ्रीस्टारले खेलको ५३औं मिनेटमा निराजन खड्काले गोल गर्दै खेलमा फर्कने प्रयास गरे।
अत्यान्तै प्रतिश्प्रधात्मक खेलको दुबै पक्षबाट गोल गर्ने केही राम्रा अवसर खेर फालेका थिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको असन्तुष्टीका कारण एक वर्ष भन्दा लामो समय घरेलु फुटबलबाट अलग बसेको थ्रि स्टारले यही प्रतियोगिताबाट घरेलु फुटबलमा पुनरामगन गरेको थियो। यसअघि थ्रिस्टारले झापा ११ लाई हराउँदै प्रतियोगितामा सुरुआत गरेको थियो ।
गत वर्ष पहिलो चरण पार गरेर एन्फाको लापरवाहीका कारण एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि थ्री स्टारले सबै खाले प्रतियोगिता बहिष्कार गर्दै आएको थियो । एन्फाबाट १ करोड ५० लाख रुपैयाँ पाउने निर्णय भएपछि थ्री स्टार फुटबलमा फर्केको थियो ।
खप्तड गोल्ड कपको विजेताले उपाधि सहित ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
आयोजक सुदूरपश्चिम ११ र एपिएफ यसअघि नै सेमिफाइनल पुगिसकेका छन्। आर्मीले साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब वा अग्नी रुपन्देही ११ मध्ये एक सँग सेमिफाइनल खेल्नेछ।
अन्तिम क्वार्टरफाइनल मनाङ र रुपन्देहीबीच शुक्रबार हुनेछ ।