नवयुग श्रेष्ठ नेपाली फुटबल इतिहासमा नयाँ युगको सुरुवात गर्ने युवा फुटबलर हुन्। २३ वर्षदेखि अन्तर्राष्ट्रिय उपाधिविहीन नेपाली फुटबलले नवयुगकै जादूमय खेलको सहायतामा २०७२ सालमा बङ्गबन्धु गोल्डकप र साग फुटबलमा उपाधि जितेर नेपाली खेलकुद क्षेत्रमा नयाँ युगको सुरुवात गर्यो। आम नेपालीमा सकारात्मक भावना जगायो। हरेक नेपालीले गर्वका साथ नाम लिने फुटबलर बने नवयुग।
...
हरेक मानिसभित्र केही न केही विशेष क्षमता विद्यमान हुन्छ। जसले आफूभित्रको क्षमता पहिचान गरी लक्ष्य निर्धारण गर्छ, ऊ सफलताको शिखरमा पुग्छ। तर, आफ्नो क्षमता पहिचान र लक्ष्य निर्धारण गर्न भने जस्तो सजिलो छैन। यही अप्ठेरोकै कारण धेरै मानिसहरू सानो छँदा एउटा कल्पना गर्छन् र भविष्यमा अर्कै बनिरहेका हुन्छन्। कसैले बिचमै आफ्नो बाटो मोड्छन् भने कतिपय जाँदाजाँदै अर्कै गन्तव्यमा पुग्छन्। कतिपय यस्ता पनि हुन्छन्, जो अर्काको पछिपछि हिँड्ने नक्कल गर्दागर्दै आफ्नो मूल बाटो नै बिर्सिन्छन्। अनि कतिपय चाहिँ कता जाने के गर्ने थाहा नपाएर कुहिरोमा परेको कागझैँ भौँतारिइरहेका हुन्छन्।
तर, यी सबै दृष्टान्तबाट अलग छन्, फुटबलर नवयुग श्रेष्ठ। नेपाली फुटबल इतिहासमा नयाँ युगको सुरुवात गर्ने उनको सफलताको यात्रालाई हेर्ने हो भने आफ्नो क्षमता पहिचान गर्न चाहने जो कोहीका लागि सफलता प्राप्त गर्नु कुनै अप्ठेरो हो जस्तो लाग्दैन। जसलाई जे कुरामा रुचि छ, उसको क्षमता पनि त्यसैमा जोडिएको हुन्छ। त्यसैले अरूले जे कुरामा सफलता पाए आफू त्यसकै पछि लाग्ने भन्दा पनि आफ्नो रुचि केमा छ, त्यसैमा मिहिनेत गर्दै गए सफलताको बाटो आफैँ तय हुने रहेछ। २०४७ सालमा इलामको मङ्गलबारेमा जन्मिएका नवयुग श्रेष्ठ पनि आफ्नो रुचिको कामलाई अगाडि बढाउँदा–बढाउँदै हरेक नेपालीको मनमा बस्न सफल फुटबल खेलाडी बनेका हुन्।
नवयुगका बुबा चन्द्रकेशर श्रेष्ठ शिक्षक हुन्। उनी नवयुगलाई डाक्टर अथवा इन्जिनियर बनाउन चाहन्थे। डाक्टर, इन्जिनियर बनाउनका लागि रामै्र शिक्षाको आवश्यकता बुझेर चन्द्रकेशरले नवयुगलाई अङ्ग्रेजी माध्यमको निजी स्कुलमा पढाए। दीप–ज्योति बोर्डिङ स्कुल र सनराइज बोर्डिङ स्कुलमा नवयुगले सात कक्षासम्म पढे। नवयुगलाई यही उमेरमा फुटबलको लत बस्यो।
नवयुग सानो हुँदा उनका बुबा चन्द्रकेशरले फुटबल खेलेको हेर्थे। बुबाले किनिदिएको खेलौना फुटबललाई लात्तीले हानेर रमाउँथे। स्कुलमा पनि क्लास–वाइज, हाउस–वाइज फुटबल हुन्थ्यो। एक कक्षामा पढ्दा पनि नवयुग क्लास–वाइज फुटबलमा सहभागी हुन्थे। पाँचथरका मनकुमार सुब्बा उनको घरमा बसेर पढ्थे। उनी नवयुगका साथी थिए। मनकुमार प्लास्टिक जम्मा गरेर फुटबल बनाउँथे अनि दुई जना मिलेर घरमा पनि फुटबल नै खेल्थे। त्यतिबेला मङ्गलबारेतिर गाउँ–टोलमा पनि फुटबल खेल हुन्थ्यो। घरमा, स्कुलमा, गाउँमा जता पनि फुटबल देख्नेबित्तिकै नवयुग एकपटक हान्न पुगिहाल्थे। बाल्यकालमै उनलाई फुटबलको लत बसेको थियो।
२०५८ सालतिर नवयुग छ कक्षामा पढ्दै थिए। त्यतिबेला माओवादीेको सशस्त्र गतिविधिले इलामका गाउँतिर पनि निकै असर परिरहेको थियो। सरकारी शिक्षक र कर्मचारीका छोराछोरी निजी स्कुलमा पढाउन नदिने अभियान चल्यो। नवयुगका बुबा पनि सरकारी शिक्षक भएकाले नवयुगले निजी स्कुल छाडेर सरकारी स्कुलमा पढ्नुपर्ने भयो। उनलाई मङ्गलबारेकै भानुभक्त उच्चमाविमा सात कक्षामा भर्ना गरियो। निजी स्कुलबाट सरकारी स्कुलमा आएपछि नवयुगलाई अझै बढी खेल्ने स्वतन्त्रता मिल्यो। उनी गाउँ–टोलमा हुने साना–साना प्रतियोगितास्थलमा नछुटाइ जान थाले। गाउँ–गाउँमा अन्तर क्लब फुटबल हुँदा खेलाडीको झोला बोकेर पनि हिँडे। आठ कक्षामा पुगेपछि स्थानीय त्रिवेणी क्लबबाट खेल्ने अवसर पनि पाए।
बच्चा हँुदा फुटबल किनेर ल्याइदिने बुबा चन्द्रकेशर अब भने फुटबल खेलेरै नवयुगले पढाइ बिगार्ने भो भन्ने चिन्तामा देखिए। फुटबल खेलोस् तर राम्रो पढेर छोरो डाक्टर, इन्जिनियर बनोस्, नभए पनि राम्रो जागिर खाओस् भन्ने बुबाको चाहना थियो। नवयुग भने फुटबल भनेपछि हुरुक्कै हुन थाले। २०६० सालमा उनी आठ कक्षामा पढ्दै थिए। काठमाडौँमा १४ वर्ष मुनिका खेलाडीको जिविस कप फुटबल हुने भयो। नवयुग त्यतै लागिहाले। जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएर १३ वर्षीय नवयुग टोलीसहित जिविस कप फुटबल खेल्न काठमाडौँ पुगे। यो पहिलो सहभागिता थियो। पहिलो पटकमै इलामले जिविस कपको राष्ट्रिय उपाधि जित्यो। नवयुगलाई अझ हौसला भयो। २०६१ सालमा पनि नवयुग दोस्रो पटक जिविस कप खेल्न काठमाडौँ पुगे। यस पटक पनि इलामले झापालाई हराएर जिविस कपको उपाधि जित्यो।
२०६२ सालमा भने नवयुग सहभागी हुन पाएनन्। यो उनको एसएलसी दिनुपर्ने वर्ष थियो। उनको रहर फुटबलमै भए पनि उनले एसएलसी छुटाएनन्। भानुभक्त उच्चमाविबाट नियमित एसएलसी उत्तीर्ण गरेका उनी १२ कक्षासम्म त्यही उच्चमाविमा पढ्दै स्थानीय खेलकुदमा सहभागी हँुदै गए। फुटबलमा केन्द्रित भएपछि उनले एघार–बाह्र कक्षाको पढाइमा भने राम्रो गर्न सकेनन्। तापनि उनले १२ कक्षाको परीक्षा दिए। परीक्षा सकिए लगत्तै उनी काठमाडौँ हानिए। काठमाडौँमा अन्डर–१६ को राष्ट्रिय टिम बनाउन छनोट खेल हुने कुरा थियो। उनी त्यसैमा सहभागी हुन गएका थिए तर खेल भएन।
खेल नभए पनि एन्फाका प्रभावशाली व्यक्ति धीरेन प्रधान उनका आफन्त थिए। उनले नवयुगको फुटबल मोह देखेर सशस्त्र प्रहरीको हलचोकमा तालिम गर्ने व्यवस्था मिलाइदिए। तालिममा राम्रो गर्न सके जागिर पनि हुन्छ, खेल्न पनि पाइन्छ भनेकाले उनले निकै मिहिनेत गरे। वनस्थलीमा ठुलोबुबाको घरमा बसेर हलचोकमा तालिम गर्न जान्थे। त्यहाँ तालिम गर्दागर्दै आफन्त धीरेन प्रधानले सि डिभिजनको टोखा क्लबमा आबद्ध गराइदिए। नवयुगको खेलप्रतिको लगाव र प्रदर्शन देखेर प्रभावित धीरेनकै सहयोगमा लगत्तै नवयुगले बि डिभिजनको हिमालयन शेर्पा क्लबमा आबद्ध हुने मौका पाए। कर्माछिरिङ शेर्पा अध्यक्ष रहेको हिमालयन शेर्पा क्लब केही समयपछि नै ए डिभिजनमा उक्लियो। अन्डर–१६ फुटबल खेल्न काठमाडौँ पुगेका नवयुगले एक वर्षको अवधिमा ए डिभिजन क्लबमा आबद्ध हुने अवसर त पाए तर कुनै महत्त्वपूर्ण खेल खेल्न भने पाएनन्।
धीरेन प्रधानको सहयोगले नवयुगले फुटबलमा धेरै कुरा सिके। यो २०६५ सालको कुरा थियो। उनको हिमालयन शेर्पा क्लबसँगको सम्झौता पनि सकियो। दसैँ पनि नजिकियो। भदौमा सप्तकोसी फुटेर पूर्व–पश्चिम हाइवे बन्द थियो। उनी भारतको बाटो हँुदै इलामको मङ्गलबारेस्थित घर आइपुगे। फुटबलमा निकै राम्रो गरे पनि उनले पढाइमा राम्रो गर्न सकेका थिएनन्। नवयुगको पढाइ राम्रोसँग अघि नवढ्दा बुबाआमा निकै चिन्तित थिए। हिमालयन शेर्पा क्लबसँगको सम्झौता सकेर घर फर्केका नवयुग पनि अब कसरी अगाडि बढ्ने भन्ने सोचिरहेका थिए। त्यही बेला साथी सरोजले धनकुटामा आर्मी खुलेको छ जाँऊ भने। आर्मी भएपछि खेलको अवसर पनि राम्रो हुन्छ भन्ने सुनेका नवयुगले धनकुटा गएर आर्मी भिड्ने सोच बनाए। बुबाआमाले पनि राम्रो पढिनस् डुलेर समय खेर फाल्नुभन्दा आर्मीमा जा भने। साथी सरोजसँगै नवयुग धनकुटामा आर्मी भिड्न गए। छनोट पनि भए।
करिब एक वर्षको तालिम सकेपछि नवयुग आर्मी भित्र हुने खेलमा सहभागी हँुदै गए। आन्तरिक रूपमा हुने प्रतियोगिता खेल्न गण, गुल्म, पृतना हँुदै काठमाडौँसम्म पुगे। त्यतिबेला त्रिभुवन आर्मी क्लबका कोच डम्बरसिंह गुरुङ थिए। नवयुगको प्रतिभा कोचको आँखामा परिहाल्यो। आर्मी क्लबका मिड–फिल्डर सन्तोष नेपाली शान्ति सेनामा गएकाले टिममा मिड–फिल्डरको ठाउँ खाली थियो। नवयुगलाई मिड–फिल्डरको रूपमा मैदान छिराइयो। छ महिनापछि सन्तोष शान्ति सेनाबाट फर्किए। तर, संयोग कस्तो भयो भने अर्का मिड–फिल्डर राजु तामाङ शान्ति सेनामा जाने भए। नवयुगले फेरि राजु तामाङको ठाउँमा मिड–फिल्डर नै भएर खेल्न पाए। यो क्रम २०६७ देखि २०६९ सम्म करिब दुई वर्ष चल्यो। यो अवधिमा उनले आफ्नो क्षमता देखाइसकेका थिए। मिड–फिल्डर राजु तामाङ फर्केपछि, नवयुगलाई स्ट्राइकर बनाइयो।
[caption id="attachment_121624" align="alignnone" width="1133"]
ऐश्वर्य प्रकाशनले बजारमा ल्याएको चेतन धमलाद्वारा लिखित पुस्तक आज शनिबार काठमाडौंमा बिमोचन हुँदैछ।[/caption]
त्रिभुवन आर्मी क्लबको स्ट्राइकर भएपछि नवयुगले विभिन्न प्रतियोगिताहरू खेले। धरानको बूढासुब्बा, पोखराको आहा–रारा, बुटबलको तिलोत्तमालगायत विभिन्न गोल्डकप खेले। यी गोल्डकपमा उनले क्षमता देखाएपछि नवयुगलाई राष्ट्रिय टिममा बोलावट भयो। तर, सानो हँुदैदेखि जहाँ गयो त्यही उत्कृष्ट प्रदर्शन गरेर छनोटमा पर्ने नवयुग राष्ट्रिय टिमको छनोटमा भने लगातार असफल भए। बोलावट हुन्छ, जान्छन् छानिदैनन्। छ पटक छनोटमा जाँदा पनि नवयुग राष्ट्रिय टिममा पर्न सकेनन्। छ पटकसम्म छनोटमा नपर्दा पनि नवयुगले हार भने खाएनन्।
२०७२ सालको सुरुवातका दिनहरू भने नवयुग पक्षमा भए। सातौँ पटकको प्रयासमा उनी राष्ट्रिय फुटबल टिममा छनोट भए। सोही वर्ष बङ्गलादेशमा बङ्गबन्धु गोल्डकप र भारतको गुवाहाटीमा साग खेलकुद प्रतियोगिता हँुदै थियो। उनी राष्ट्रिय टिममा परेलगत्तै स्ट्राइकरको भूमिकामा बङ्गबन्धु गोल्डकपमा सहभागी हुन बङ्गलादेश गए। बङ्गबन्धु गोल्डकपको सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेपछि बल्ल उनको प्रतिभाले उज्यालिने मौका पायो। सोही प्रतियोगिताको फाइनलमा बहराइनविरुद्ध एक गोल गरी नवयुगले नेपाललाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे। सँगै उनले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि पनि लिएर नेपाल आए।
बङ्गबन्धु जितेर आएलगत्तै साग फुटबल उनको प्रस्तुति पर्खेर बसिरहेको थियो। २०७२ साल फागुनमा भएको साग फुटबलमा पनि नवयुगले जादूमय खेल प्रदर्शन गरे। उनको महत्त्वपूर्ण खेलले नै नेपालले भारतलाई हराएर उपाधि हात पा¥यो। सन १९९३ मा बङ्गलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलकुदमा नेपालले भारतलाई हराएर स्वर्ण पदक जितेको थियो। त्यसपछि नेपालको उपाधिमा खडेरी थियो। नवयुगको उत्कृष्ट प्रदर्शनले नेपालले दुई दशकपछि फेरि फुटबलमा नयाँ युगको सुरुवात ग¥यो। साग फुटबलमा नेपालका तर्फबाट नवयुग एक्लैले सात गोल हाने।
फुटबल टिममा खेलिने सामूहिक खेल हो। तर, दुई दशकभन्दा लामो समय उपाधिको खडेरी खेपेको नेपाली राष्ट्रिय टिमको पुनरागमनमा नवयुगको प्रवेश सञ्जीवनीसरह भयो। उनी आम नेपालीको मनमा बस्न सफल फुटबलर भए। बच्चादेखि नै रुचिको खेल पछ्याउँदै जाँदा उनी चर्चाको शिखरमा पुगे। जुन कुरामा रुचि छैन त्यसमा घस्रिनुभन्दा जेमा रुचि छ, त्यसैमा मिहिनेत गरे सफलताको उचाइमा पुग्न सकिन्छ भन्ने एउटा उदाहरण पनि भए उनी।
नवयुग आफ्नो सफलताको पछाडि परिवारको साथ, गाउँ–घरको फुटबलमैत्री वातावरण र आफन्त धीरेन प्रधानको सहयोग रहेको बताउँछन्। तर, यी सबै सहायक कारणहरू हुन्। यो सफलताको पछाडि उनको रुचि र मिहिनेत महत्त्वपूर्ण छ। उनले निरन्तर अभ्यास नगरेका भए कोही कसैले गोल हानी दिने थिएन। आफुले मिहिनेत गर्दै जाँदा कतै अबरोधहरु पनि आउछन, कहीले काही सहयोगी हात र अबसर हरु पनि आउछन। अबरोध या अबसर जे आए पनि आफ्नो यात्रामा बिचलित नभइ मिहिनेत ग¥यो भने सफलताको सिखरमा पुग्न सकिन्छ। नबयुगको जिवनले सिकाउने पाठ पनि यही हो।