राष्ट्रिय महिला लिगमा गोल वर्षा, एपिएफले मध्यपश्चिमलाई २६–० ले हरायो, सावित्रा एक्लैको १२ गोल


राखेप च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय महिला फुटबलमा नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले विपक्षीमाथि गोल वर्षा गर्दै फराकिलो अन्तरले विजयी भएका छन्।

सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई २६–० गोलले हरायो भने पहिलो खेलमा आर्मीले पश्चिमाञ्चललाई १२–० गोल अन्तरले हरायो।

एपिएफले पहिलो हाफमै १४ गोल गरेको थियो भने दोस्रो हाफमा थप १२ गोल गर्‍यो। उसका लागि सावित्रा भण्डारी एक्लैले दर्जन गोल गरिन्। उनले खेलको तेस्रो मिनेटमा पहिलो गोल गरिन् भने त्यसपछि क्रमशः १५, १७, २४, ३४, ४०, ४७, ५२, ५९, ६०, ७७ र ९१+१ मिनेटमा गोल गर्दै १२ गोल पुर्‍याइन्। राष्ट्रिय फुटबलमा एकै खेलमा १२ गोल गर्ने सावित्री पहिलो खेलाडी बनेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

यस्तै एपिएफकै लागि अनिता केसीले (११, १६, ४४, ७२ र ८१ औं मिनेट) पाँच गोल गरिन्।। अन्जली योन्जन (२९, ३९, ४९ र ८८ मिनेट) मा ४ गोल गर्दा रेशा पौडेलले ६५ र ७८ तथा अनिता बस्नेतले १८ मिनेटमा गोल गरेका थिए।

यसअघि भएको पहिलो खेलमा आर्मीले पश्चिमाञ्चललाई दर्जन गोल गर्ने क्रममा दीपा राईले पाँच गोल गरिन्। कप्तान कृष्ण खत्रीले ह्याट्रिक पूरा गर्दा ईन्दिरा राईले २ गोल गरिन्।  पूजा राना र शर्मिला थापाले १–१ गोल गरेका थिए।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.