चार पटकको विश्व च्याम्पियन इटाली ६० वर्षपछि विश्वकप बाहिर


चार पटकको विश्व च्याम्पियन इटाली आगामी वर्ष रूसमा हुने विश्वकप फुटबलमा नदेखिने भएको छ। सोमबार राति विश्वकप छनोटका लागि भएको युरोपियन क्षेत्रको प्ले–अफ अन्तर्गत दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीको विश्वकप खेल्ने सम्भावना सकिएको हो।

यसअघि स्वीडेनसँगको पहिलो लेगमा १–०  अप्रत्यासित हार बेहोरोको इटाली दोस्रो लेगमा बराबरीमा रोकिए पछि उसको विश्वकप यात्रामा पूर्णविराम लाग्यो।

समग्रमा इटालीलाई १–० ले हराउँदै स्वीडेन भने १२ औं पटक विश्वकपमा छानिएको हो। सन् १९५८ को उपविजेतासमेत रहेको स्वीडेनले सन् २००६ को विश्वकप पछि पहिलो पटक छानिएको हो। १२ वर्षपछि विश्वकपमा पुनरागमन गर्ने क्रममा उपाधिको बलियो दाबेदार इटालीलाई निराश पार्दै स्विडेनले रूसकको टिकट काटेको हो।

स्विडेनको घरेलु मैदानमा पराजित इटालीले आफ्नै घरेलु मैदानमासमेत गोल गर्न नसक्दा इटाली दर्शकलाई निरास बनाएको हो।

खेल अवधिभर अधिकांश समय बल नियन्त्रणमा लिए पनि गोल गर्न नसक्दा स्वीडेनका लागि विश्वकप यात्रा सहज बन्यो।

सन् १९५८ पछि (६० वर्षमा) पहिलोपल्ट विश्वकपमा छनोट हुन नसकेको इटालीले सन् १९३० को पहिलो विश्वकप खेल्न अस्वीकार गरेको थियो। सन् १९३४, १९३८, १९८२ र २००६ को विश्वकप विजेतासमेत रहेको इटाली १९७० र १९९४ मा उपविजेता बनेको थियो।

घरेलु मैदानमा पराजित भएपछि विश्वफुटबलमा आफ्नो उत्कृष्ट खेल कौशल तथा भव्य व्यक्तित्वको परिचय बनाएका इटालीका कप्तान तथा गोलरक्षक बुफोनले सन्यास लिएका छन्। ३९ वर्षिय बुफोनका लागि स्वीडेनसँग पराजय नै उनको अन्तिम अन्तर्राष्ट्रिय खेल बन्यो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.