ब्राजिलियन फरवार्ड तथा सहकर्मी नेयमार यही सिजन बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मन (पिएसजी) जान्छन् भन्नेबारे मेसीलाई अन्तिम समयसम्म थाहा नभएको बताउँछन् ।
यसअघि बार्सिलोनाका जाभी र जेरार्ड पिकेले नेयमारले आफ्नो निर्णय मेसीकै विवाहको बेला आफूलाई सुनाएको बताएका थिए । तर मेसी स्वयम् भने सो निर्णयबाट अनवगत रहेको बताउँछन्, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खबर लेखेका छन्।
‘वास्तवमै भन्नुपर्दा नेयमारको निर्णयबारे मलाई केही जानकारी थिएन। अमेरिकाको भ्रमणका बेला उनले मलाई आफू दोधारमा रहेको मात्र बताएका थिए । तर पछि अन्य साथीहरुबाट थाहा पाउँदा उनले पहिल्यै निर्णय लिइसकेका रहेछन्,’ मेस्सीले इएसपिएनसँगको अन्तर्वातामा भनेका छन्।
त्यस्तै अर्का सहकर्मी लुइस स्वारेजले पनि नेयमारलाई नछोड्न आग्रह गरेको बताएका छन्। ‘मैले नेयमारलाई नजाऊ भनिनँ तर बार्सिलोना नछोडेको राम्रो भनेर पटक-पटक सम्झाएँको थिएँ,’ स्वारेजले भनेका छन्। स्थापित भइसकेको मित्रताका कारण नेयमारले छोडेर जाँदा दु:ख लागेको समेत स्वारेजले बताए।
तर ठूलो रकममा नेयमार पिएसजी आएयता निकै राम्रो लयमा देखिएका छन्। फेन्च क्लब पिएसजीका लिगको शीर्ष स्थानमा छ। उनले क्लबका लागि ७ गोल पनि गरिसकेका छन्।