कार्लोस अल्कारेजले पहिलो पटक विम्बल्डन टेनिसको पुरूष एकलको उपाधि जितेका छन्। सर्वियन टेनिस स्टार नोभाक जोकोभिचलाई स्तब्ध पार्दै अल्कारेजले उपाधि जितेका हुन्।
२० वर्षीय स्पेनिस खेलाडी अल्कारेजले खराब सुरूवात गरे पनि डिफेन्डिङ च्याम्पियन जोकोभिचलाई १-६, ७-६ (८-६) ६-१, ३-६ र ६-४ ले पराजित गरे।
जोकोभिचले यो उपाधि जितेको भए विम्बल्डनमा आठौं र ग्रान्डस्लामतर्फ २४ औं उपाधि हुने थियो। तर शीर्ष वरीयताका अल्कारेजले ३६ वर्षीय जोकोभिचलाई पराजित गर्दै विश्व टेनिसमा नयाँ स्टार उदाएको संकेत गरेका छन्।
अल्कारेजको यो दोस्रो प्रमुख उपाधि हो। उनले गत वर्ष युएस ओपन जितेर आफ्नो पहिलो ग्राण्डस्लाम ट्रफी उचालेका थिए।
विम्बल्डनमा जोकोभिचलाई हराएपछि उनी भुइँमा पल्टिए र खुसीसाथ बललाई दर्शकतर्फ फ्याँकेका थिए।
विम्बल्डनको सेन्ट्रल कोर्ट खचाखच भरिएको थियो। बेलायतका राजकुमार र राजकुमारीसँगै अभिनेता ब्राड पिट र दुई पटकका विजेता एन्डी मुर्रे पनि दर्शकदीर्घामा थिए।
फाइनलपछि सबै दर्शक अल इङ्ल्यान्ड क्लबको नयाँ च्याम्पियनको सम्मानमा उभिएका थिए।
त्यसपछि परम्परा पछ्याउँदै अल्कारेज कोर्टबाट सिँढी पार गर्दै आफ्नो प्रशिक्षक जुआन कार्लोस फेरेरो, आफ्नो परिवार र साथीलाई अँगालो हाल्न पुगेका थिए।
अल्कारेज विम्बल्डन उपाधि जित्ने तेस्रो कान्छो खेलाडी बने। सन् १९८५ मा १७ वर्षीय बोरिस बेकर र १९७६ मा २० वर्षीय बियोन बर्गले यो उपाधि जितेका थिए।
पराजयपछि २३ ग्राण्डस्लाम उपाधि जितेका जोकोभिच प्रतिक्रिया दिने क्रममा भावुक भएका थिए। त्यसक्रममा उनको आँखाबाट आँसु झरेको थियो।
जोकोभिचले यसअघि अष्ट्रेलियन ओपन र फ्रेन्च ओपन जितेर २२ उपाधि जित्ने राफेल नाडालको कीर्तिमानलाई पछि पारेका थिए।
अर्को एक उपाधि जित्न सके टेनिसका महान खेलाडी मध्येकी एक मार्गरेट कोर्टको २४ एकल उपाधि जित्ने विश्व कीर्तिमान बराबरी हुने जोकोभिकलाई थाहा थियो। अष्ट्रेलियाकी महिला खेलाडी मार्गरेटको यो कीर्तिमान अहिलेसम्म कुनै पनि टेनिस खेलाडीले पार गर्न सकेका छैनन्।
सन् २०१८ देखि व्यावसायिक टेनिस खेल्न थालेका अल्कारेजले सन् २०२१ मा १७ वर्षको उमेरमा अस्ट्रेलियन ओपन खेलेका थिए। त्यतिबेला उनी पुरूष एकलमा प्रतिस्पर्धा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए।
हाल उनी एकलतर्फको वरीयतामा पहिलो नम्बरमा छन्। उनले २०२३ विम्बल्डनसहित २०२२ युएस ओपन र चार मास्टर्स उपाधिसहित १२ एटिपी टुर-स्तर एकल उपाधि जितेका छन्। युएस ओपनको उपाधिपछि उनी १९ वर्षको उमेरमा विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने पहिलो खेलाडी बनेका थिए।
टेनिस करिअरलाई उच्च लयतर्फ अघि बढाइरहेका स्पेनका युवा खेलाडी अल्कारेजले फ्रेन्च ओपनको सेमिफाइनलमा जोकोभिचको अगाडि कठिन अनुभव भोगिसकेका थिए। त्यसैले विम्बल्डन २०२३ को फाइनल खेलअघि अल्कारेजको मानसिक अवस्थाबारे चर्चा भइरहेको थियो।
आइतबार जोकोभिचसँग खेल्दा उनी डरबाट मुक्त नहुनेमा विश्वस्त थिए। तर खेलको पहिलो सेट एकतर्फी रह्यो र फेरि एकपटक जोकोभिच अल्कारेजमाथि हावी भएको देखियो। जोकोभिचले पहिलो सेट ३४ मिनेटमै जितेका थिए ।
यद्यपी अल्कारेज बिस्तारै लयमा फर्किए। अल्कारेजले २७ मिनेटमा तेस्रो सेट जितेर अग्रता लिए पनि चौथो सेटमा उनले दु ईवटा अनफोर्स्ड गल्ती गरे र जोकोभिचले बराबरी गरे।
तर निर्णायक पाँचौ सेटमा अल्कारेज खेलमा फर्किए। उनले जोकोभिचको २–१ को अग्रता तोडेका थिए। त्यतिबेला जोकोभिच यति रिसाए कि उनले आफ्नो र्याकेट बजारेका थिए। त्यसपछि अल्कारेजले थप उत्कृष्ट खेल देखाउँदै चार घन्टा ४२ मिनेटसम्म चलेको फाइनल खेल जित्दै इतिहासमा नाम लेखाए।
जोकोभिचको हारको अर्थ उनले रोजर फेडेररको विम्बल्डनमा आठ एकल उपाधि जित्ने कीर्तिमानको बराबरी गर्न सकेनन्। उनले मार्गरेट कोर्टको २४ ग्रान्डस्लाम जित्ने कीर्तिमान पनि बराबरी गर्न थप प्रतियोगिता खेल्न पर्ने स्थिति आयो।
अल्कारेजले २०१७ यता लगातार ३४ खेल जित र २०१३ यता लगातार ४५ सेन्टर कोर्ट म्याच जित्ने जोकोभिचको सिलसिलालाई पनि समाप्त गरे।
-बिबिसी स्पोर्टमा जोनाथन जरेज्कोले तयार पारेको फिचरको सम्पादित अंश