१९औं संस्करणको युटिएमबी विश्व च्याम्पियनसिप, १० हजार बढी धावकको प्रतिस्पर्धा, सामाजिक सञ्जालमा १ करोड ८८ लाख बढी भ्यू, प्रतियोगिताको बारेमा छापिएका ९६४ वटा लेख र प्रतियोगितामा सहभागी भएका ४६० पत्रकार।
यो माहोलका बीच नेपालकी सुनमाया बुढाले अल्ट्रा ट्रेल रेसमा सबैभन्दा कठिन मानिने युटिएमबी विश्व च्याम्पियनसिप सिसिसी १०० किलोमिटर दौडमा कीर्तिमान बनाएकी छिन्।
महिलातर्फ दोस्रो भएकी सुनमायाले फ्रान्सको यो प्रतियोगितामा पहिलो पटक भाग लिएकी हुन् भने उनले यसअघिको कीर्तिमानभन्दा आधा घन्टा छिटो दौड पूरा गरेकी थिइन्।
प्रतियोगितामा नेपालका दुई महिलाले भाग लिएका थिए। सुनमायाले टिम नर्थ फेसबाट १०० किलोमिटर सिसिसी र टिम सालोमनकी मिरा राईले १५० किलोमिट ओसिसी विधामा भाग लिएका थिए।
सन् २०२१ को डिसेम्बरमा थाइल्यान्डमा भएको विश्व च्याम्पियनसिपको छनोट दौड युटिएमबीमा उत्कृष्ट प्रदर्शन गरेपछि सुनमायाले एसियाली ट्रेल रेसमा चर्चा बटुलेकी थिइन्।
थाइल्यान्डमा सुनमाया महिलातर्फ च्याम्पियन भएकी थिइन् भने समग्रमा तेस्रो स्थानमा रहेकी थिइन्। थाइल्यान्डमा धेरै पुरुषलाई समेत पछि पारेकी सुनमाया दुई जना पुरुष खेलाडीसँग मात्र पछि परेकी थिइन्। यससँगै उनी विश्व च्याम्पियनसिपका लागि छनोट भएकी थिइन्।
यहीँ अगस्टको अन्तिम साता फ्रान्समा भएको युटिएमबी विश्व च्याम्पियनसिप सिसिसी सय किलोमिटरमा उनले विश्वका उत्कृष्ट धावकहरूलाई कडा टक्कर दिएकी थिइन्।
खराब मौसम र पहिलो पटकको अनुभवका बावजुद उनले अनुभवी खेलाडीविरूद्ध उत्कृष्ट प्रदर्शन गर्न सफल भइन्। च्याम्पियन ब्लान्डिन ल'हिरोन्डेलभन्दा सुनमायाले ५ मिनेटपछि दौड पूरा गरेकी थिइन्।
ब्लान्डिनले ११ घन्टा ४० मिनेट ५५ सेकेन्डमा दौड पूरा गर्दा गर्दा सुनमायाले ११ घन्टा ४५ मिनेट ४४ सेकेन्डमा सय किलोमिटर पार गरेकी थिइन्।
दुवैले यसअघिको भन्दा आधा घन्टाभन्दा कम समयमा दौड पूरा गर्दै कीर्तिमान तोडेका थिए।
मीरा राईले सन् २०१७ मा चर्चा बटुलेपछि नेपाललाई फेरि चर्चामा ल्याउने यो उत्कृष्ट प्रदर्शन थियो।
सुनमायालाई विगत दुई वर्षदेखि नर्थ फेस टोलीले प्रायोजन गरेको छ र अष्ट्रेलियाका प्रशिक्षक एन्डी डुबोइसले दौडका लागि प्रशिक्षण दिइरहेका छन्। विश्व स्तरका खेलाडी उत्पादन हुनु नेपालका लागि गौरवको क्षण हो।
जुम्लाको दुर्गम गाउँकी २३ वर्षीया सुनमायाले २०१७ बाट ट्रेल दौडन थालेकी थिइन्। प्रायोजक र समर्थकको सहयोगमा विश्व च्याम्पियनसिपमा गरेको आफ्नो प्रदर्शनले सुनमायालाई आगामी प्रतियोगिताका लागि थप उत्साह मिलेको छ।
यो पनि :- थाइल्यान्डमा ११० किलोमिटर लामो दौड जितेकी जुम्लाकी सुनमाया (भिडिओ)