श्रीलंकालाई टी-ट्वान्टीमा पनि पाकिस्तानले हराएको छ।
तीन टी- ट्वान्टी अन्तर्गत पहिलो खेलमा श्रीलंकालाई ७ विकेटले हराउँदै पाकिस्तानले आफ्नो विजयी यात्रा जारी राखेको हो। दुवईमा बिहीबार राति भएको खेलमा श्रीलंकाले दिएको १ सय ३ रनको लक्ष्य पाकिस्तानले १६ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टायो।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरको खेलमा १८ ओभर ३ बलमा १ सय २ रन बनाउँदा सबै विकेट गुमायो। धनुष्का गुनथिलकाले १८ रन, सदिरा सामाराविक्रमाले २३ रन, सेक्कुग्गे प्रसन्नाले अविजित २३ रन बनाउनुबाहेक अन्य खेलाडीले खेल्न सकेनन्। श्रीलंकाका ७ जना खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
श्रीलंकाको इनिङ ध्वस्त पार्ने क्रममा पाकिस्तानका हसन अलीले तीन विकेट लिए। यस्तै उस्मान खान र मोहम्मद हाफिजले दुई दुई साथै इमाद वासिम, फहिम असरफ र सादब खानले एक एक विकेट लिएका थिए।
१०३ रनको लक्ष्य पछ्याएको पाकिस्तानका लागि सोहेब मलिकले अविजित ४२ रन र मोहम्मद हाफिजले अविजित रहँदै २५ रन तथा अहमद सेहजादले २२ रन बनाए पछि १६ बल बाँकी छँदै लक्ष्य भेट्टायो।
श्रीलंकाका बिकुम सञ्जयले दुई साथै सचिथ पाथिरानाले एक विकेट लिएका थिए।
यसअघि श्रीलंकासँगको पाँच एकदिवसीय क्रिकेट क्निस्विप गरेको पाकिस्तानले टी- ट्वाण्टीमा पनि विजयी शुरुवात गरेको हो। अब दुई वटा टी-ट्वाण्टी खेल बाँकी छ।