मोरङको पथरीशनिश्चरेस्थित आइतबारेमा आगामी असोज १९ गतेबाट पूर्वाञ्चल स्तरीय सातौ विरेन्द्रनगर कप क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । मंगलबार आयोजक विरेन्द्रनगर क्रिकेट क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राजेश कुईकेलले क्लबले विगतमा गर्दै आएको प्रतियोगितालाई यस बर्ष अझ ब्यवस्थित गरि संचालन गर्न लागिएको बताए ।
स्थानिय खेलाडीलाई अवसर प्रदान गर्ने मुख्य उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताउँदै कुईकेलले प्रतियोगितामा केहि राष्ट्रिय स्तरका खेलाडिको समेत सहभागिता रहने बताए ।
असोज ३१ गते सम्म संचालन हुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन सेभेन स्टार क्लब इटहरी सहित पूर्वाञ्चलका २० टीमको सहभागिता रहने प्रतियोगिता संयोजक हेमन्त ओझाले बताए ।
कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्नका लागि ४ लाख ५० हजारको आयव्यय विवरण समेत सार्वजनिक गरिएको छ ।
प्रतियोगिताको विजेता टीमले नगद ५१ हजार सँगै ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेता टीमले नगद ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ बराबरको मोबाईल प्रदान गरिने र उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डरलाई समेत पुरस्कृत गरिने जनाइएको छ ।