एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको उपाधिका लागि नेपालले हङकङसँग ७७ रनको लक्ष्य पाएको छ।
मलेसियाको किन्नारा ओभलमा टस जितेको नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको थियो।
निर्धारित ५० ओभरको खेलमा हङकङले ३२.१ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्र बनाउन सक्यो।
हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछाने र सोहेब आलमले ३-३ तथा अनिल साह र दीपेद्र सिंह ऐरीले १-१ विकेट लिए। मित महर्जन र आसिफ शेखले हङकङका १–१ ब्याट्स्म्यानलाई रनआउट गरे।
यसअघि मलेसियालाई १० विकेटले हराएर नेपाल फाइनलमा पुगेको थियो।
एसिसीको यू–१९ प्रतियोगितामा नेपाल सातौं पटक फाइनलमा पुगेको हो। यसअघि नेपालले ६ पटक फाइनलमा प्रतिस्पर्धा गरेको छ। ६ मध्ये नेपालले चार पटक उपाधि जितेको छ भने २ पटक उपविजेतामै सीमित बनेको थियो।