मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट अन्तर्गत सर्वाधिक रन बनाएका सिंगापुरका सिद्धान्त २० रन बनाएर आउट भएका छन्। प्रतियोगितामा अहिलेसम्म ३ खेलबाट १११ रन बनाएका उनी प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनलाई नेपाली बलर पवन सरार्फले आउट बनाएका हुन्।
यस्तै पवनकै बलमा उत्कर्ष दुबे पनि १४औं ओभरको पाँचौ बलमा आउट भए।
क्लब अमानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको सिंगापुरले ३ विकेट गुमाएर १४ ओभरमा ३६ रन बनाएको छ।
यसअघि नेपालका लागि किशोर महतोले २ विकेट लिएका थिए।
तेस्रो ओभरको दोस्रो बलमै पहिलो विकेट गुमाएको सिंगापुरले नवौ ओभरको पहिलो बलमा दोस्रो विकेट गुमायो।
ताजा स्थितिमा सिंगापुर ९ ओभमा २ विकेट गुमाएर २६ रनमा खेलिरहेको छ।
सेमिफाइनलमा स्थान पक्का बनाइसकेको सिंगापुर नेपाली टोलीका लागि सबैभन्दा कठिन प्रतिद्वन्द्वी हो।
अघिल्ला दुई खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको नेपाल सिंगापुरलाई पराजित गर्दै समूह बिजेता बन्न चाहन्छ। समूह ए को नेपालले पहिलो खेलमा थाइल्याण्डलाई २५५ रनले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको थियो ।
दुई खेलमा ४ अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा छ । यता, सिंगापुर पनि दुई खेलमा अपराजित छ। सिंगापुरले थाइल्याण्डलाई ९२ रनले र भुटानलाई ९ विकेटले पराजित गरेको थियो। सिंगापुरको पनि ४ अंक छ तर, नेट रनरेटको आधारमा सिंगापुर नेपाल भन्दा पछि छ।
छनोटको समूह बी मा चीन, मलेसिया, हङकङ र म्यानमार छन् । फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछन् ।