मलेसियामा जारी एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगितामा नेपालले भुटानलाई सहजै हराएको छ। लगातार दोस्रो जीत दर्ता गर्ने क्रममा नेपलाले बुधबार भुटानलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
पहिले ब्याटिङ गर्दै भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८.३ ओभरमा १ विकेट गुमाएर पार गर्यो।
नेपालको जीतमा ओपनर मोहमद आसिफ शेखले नटआउट २३ र अनिल साहले नटआउट ४ रन जोडे। आसिफले २१ बल खेलेर ३ चौका तथा अनिलले ५ बल खेलेर १ चौका प्रहार गरे । ओपनर सन्दीप सुनार २१ रन जोडेर आउट भए ।
यसअघि मलेसियाको किन्नारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटान २८ ओभरमा ५० रनमा अलआउट भएको थियो। भुटानलाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी एक्लैले ५ विकेट लिए । यस्तै, सन्दीप लामिछानेले ४ र नन्दन यादव १ विकेट लिएका थिए।
भुटानका लागि २ ब्याट्म्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सके। दीपेन्द्रले ८ ओभर बलिङ गरेर २३ रन खर्चिए भने सन्दीपले ७ ओभरमा ७ रन मात्र खर्चिए।
यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। भुटान सिंगापुरसँग पनि समान ९ विकेटले पराजित भएको थियो।
समूह ‘ए’मा रहेको नेपालले बिहीबार सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।