एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले थाइल्यान्डलाई दुई सय ५५ रनले हराएको छ। मलेसियाको क्लव अमानको मैदानमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि कमजोर मानिएको थाइल्याण्ड १० ओभरमा २६ रनमा समेटियो।
थाइल्याण्डला२ सस्तैमा रोक्ने क्रममा सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै एक मेडनसहित ६ रन खर्चिएर ७ विकेट लिए।
थप तीन विकेट कप्तान दीपेन्द्र सिंह ऐरी, नन्दन यादव र किशोर महतोले लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो।
मध्यम सुरुवात गरेको नेपालका लागि अनिल कुमार साहले सर्वाधिक ९१ रन बनाए। सतक बनाउन ९ रनले चुकेका उनले ७४ बलमा ६ चौका र ५ छक्का हिर्काएका थिए। यस्तै प्रनित थापामगरले अर्धशतकीय योगदान गरे। उनले ६१ बल खेलेर ५० रन बनाए। उनले ३ चौका र एक प्रहार गरे।
रोहित पौडेलले २८ रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ बल खेलेर २२ रनमा आउट भए।
ओपनर मोहमद आसिफ शेखले २१ रन बनाए। ९ ओभरको पहिलो बलमा आउट हुनुअघि २६ बल खेलेर २ चौका प्रहार गर्न सफल भए। अर्का ओपनर सन्दीप सुनारले ३२ रनको योगदान गरे। उनले ५७ बलमा ३ चौका प्रहार गरे। सन्दीपले अनिलसँग दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे।
पवन शर्राफ २२ र किशोर महतो २ रनमा अविजित रहे।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले सिंगापुर, भुटान र थाइल्यान्डविरुद्ध खेल्नेछ। समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन्। नेपालको बुधबार भुटानसँग र बिहीबार सिंगापुरसँग खेल हुनेछ। समूहबाट शीर्ष स्थान बनाउने दुई टोलीले यू–१९ एसिया कपमा छनोट हुन पाउनेछन्।